18
इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्य गर्न सुरु गरे ।2 तिनले राज्य गर्न सुरु गर्दा तिनी पच्चीस वर्षका थिए । तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।3 आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्टिमा जे ठीक थियो तिनले त्यही गरे ।4 तिनले उच्च ठाउँहरू हटाए, ढुङ्गाका खम्बाहरू नष्ट पारे र अशेरा स्तम्भहरू टुक्राटुक्रा पारिदिए । तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए । यसलाई, “नहूश्तान” भनिन्थ्यो ।5 इस्राएलका परमप्रभु परमेश्वरमा हिजकियाको यस्तो विश्वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनी भन्दा पछि कोही पनि तिनी जस्तो थिएन, न त तिनी भन्दा पहिलेका राजाहरूका माझमा नै कोही थियो ।6 किनकि तिनी परमप्रभुमा लागिरहे । तिनले उहाँको अनुसरण गर्न छोडेनन् तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरे ।7 त्यसैले परमप्रभु हिजकियासित हुनुभयो, र तिनी जहाँ गए तापनि तिनको उन्नति भयो । अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए र उनको सेवा गरेनन् ।8 पलिश्तीहरूको देश गाजा र पहरेदार बस्ने धरहरादेखि किल्लाबन्दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते ।9 राजा हिजकियाको चौथो वर्ष, जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्ष थियो, अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए र त्यसलाई घेरा हाले ।10 तीन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा, जुन इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, तिनीहरूले त्यसलाई कब्जा गरे । यसरी सामरियालाई कब्जा गरियो ।11 यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले ।12 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्यसलाई सुन्न र पालन गर्न इन्कार गरे ।13 तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे ।14 त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, “मैले तपाईंलाई चोट पुर्याएको छु । मबाट पछि हट्नुहोस् । तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्नेछु ।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दश टन चाँदी र एक टन सुन माग गरे ।15 त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पाइएका सबै चाँदी दिए ।16 त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले । तिनले उक्त सुन अश्शूरका राजालाई दिए ।17 तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठूलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्यहाँ रोकिए ।18 जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।19 त्यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्यो बताउनका लागि तिनीहरूलाई भने, “तिम्रो दृढताको स्रोत के हो ?20 युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्यो ?21 हेर, मिश्र देशको यो चिरा परेको निगालोको टेक्ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्छ र त्यसलाई छेडिदिन्छ । आफूमाथि भरोसा गर्ने हरेकको निम्ति मिश्र देशका राजा फारो त्यस्तै हो ।22 तर तिमी मलाई भन्छौ, ‘हामी परमप्रभु हाम्रा परमेश्वरमाथि भर पर्छौँ’, भने के उहाँ नै होइन जसका उच्च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, ‘तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ’ ?23 त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्न चाहन्छु । तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु ।24 मेरा मालिकका सेवकहरूमध्ये सबै भन्दा तल्लो एउटा कप्तानको पनि तपाईं कसरी विरोध गर्न सक्नुहुन्छ ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्र देशमा भरोसा गर्नुभएको छ !25 के म परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न आएको हुँ र ? परमप्रभुले मलाई भन्नुभयो, ‘यस देशलाई आक्रमण गर् र नाश गर्’ ।26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।27 तर प्रधान सेनापतिले तिनीहरूलाई भने, “के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्नलाई मलाई पठाउनुभएको हो र ? के पर्खालमा बस्ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ ?28 तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को स्वरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन ।29 राजा भन्नुहुन्छ, ‘हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्नेछैनन् ।30 हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, “निश्चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन” ।’31 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ, ‘मसित सम्झौता गर र मकहाँ आओ । तब तिमीहरू हरेकले आफ्नै दाखबारी र भद्राक्षाको बोटबाट खान पाउनेछौ, र आफ्नै कुवाको पानी पिउन पाउनेछौ ।32 अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, भद्राक्षका रूखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देश जस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्नेछौ र मर्नेछैनौ ।’ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन ।33 के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र ?34 हमात र अर्पादका देवताहरू कहाँ छन् ? सपर्बेम, हेना र इव्वाका देवताहरू कहाँ छन् ? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन् ?35 देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्नो देशलाई छुटकारा दिएको छ र ? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र ?36 तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, “तिनलाई जवाफ नदिनू ।37 तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए ।