17
यहूदाका राजा आहाजको बाह्रौँ वर्षमा एलाहका छोरा होशियाले राज्य सुरु गरे । तिनले सामरियामा बसेर इस्राएलमाथि नौ वर्ष राज्य गरे ।2 परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनी भन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन ।3 अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गरे र उनी तिनका सेवक बने र तिनलाई कर तिरे ।4 त्यसपछि आफ्नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकारी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए । साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् । त्यसैले अश्शूरका राजाले तिनलाई बन्दी बनाए र झ्यालखानामा थुनेर राखे ।5 तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे, र सामरियामाथि आक्रमण गरे र यसलाई तीन वर्षसम्म घेराबन्दी गरे ।6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे । तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले ।7 इस्राएलीहरूले आफूलाई मिश्र देशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्र देशबाट ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरेका हुनाले तिनीहरू यसरी बन्दी भए । यी मानिसहरूले अरू देवताहरूको पूजा गरिरहेका थिए,8 र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए ।9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा जे कुराहरू गर्नु ठीक थिएन, गुप्त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्म नै आफ्ना सबै सहरहरूमा तिनीहरूले आफ्ना निम्ति उच्च थानहरू बनाए ।10 हरेक उच्च डाँडा र हरेक हरियो रूखमुनि तिनीहरूले ढुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए ।11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरे जस्तै तिनीहरूले उच्च थानहरूमा धूप बाले । परमप्रभुलाई रीस उठाउनलाई इस्राएलीहरूले दुष्ट कुराहरू गरे,12 तिनीहरूले मूर्तिहरूको पूजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्नुभएको थियो, “तिमीहरूले यो कुरा गर्नेछैनौ ।13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञापालन गर्न सावधना होओ ।14 तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्ना परमेश्वरमाथि विश्वास नगर्ने आफ्ना पुर्खाहरू जस्तै तिनीहरू ज्यादै हठी भए ।15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।16 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पूजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुई वटा बाछाका आकृतिहरू बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पूजा गरे ।17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिँड्न लगाए, तिनीहरूले जोखना हेरे र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रीस उठाए ।18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन ।19 यहूदाले पनि परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्यासहरूको अनुसरण गरे ।20 यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्टिबाट नफाल्नुभएसम्म उहाँले तिनीहरूलाई लूटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो ।21 उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठूलो पाप गर्न लगाए ।22 इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्,23 त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्नुभएझैँ इस्राएललाई आफ्नो दृष्टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्यस्तै भएको छ ।24 अश्शूरका राजाले बेबिलोनबाट र कूताबाट र अव्वाबाट हमात र सपर्बेमबाट मानिसहरू ल्याए र इस्राएलका मानिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले । तिनीहरूले सामरिया कब्जा गरे र यसका सहरहरूमा बसे ।25 तिनीहरूले बसोबास सुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन् । त्यसैले परमप्रभुले तिनीहरूका बीचमा सिंहहरू पठाउनुभयो जसले तिनीहरूमध्ये केहीलाई मारे ।26 त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, “तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्दैनन् । त्यसैले उहाँले तिनीहरूका बीचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मार्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्दैनन् ।27 तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए, “तिमीहरूले त्यहाँबाट ल्याएका पूजाहारीहरूमध्ये एउटालाई लिएर जाओ । तिनी गएर त्यहीँ बसून्, र तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन् ।28 त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पूजाहारीहरूमध्ये एक जना आए र बेथेलमा बसे । तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए ।29 हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्यसै गरे ।30 बेबिलोनका मानिसहरूले सुक्कोत-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए,31 अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई आगोमा जलाए ।32 तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बीचबाट उच्च थानहरूमा पूजाहारीहरू नियुक्त गरे, जसले उच्च स्थानमा निर्मित मन्दिरहरूमा आफ्ना निम्ति बलि चढाए ।33 तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूलाई पनि पुज्थे ।34 आजको दिनसम्म तिनीहरू आफ्ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन् ।35 जब तिनीहरूसित परमप्रभुले करार बाँध्नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्नेछैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूको पूजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।36 तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ ।37 उहाँले तिमीहरूका निम्ति लेख्नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ । त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्नुहुँदैन,38 र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछैनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ ।39 तर तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।40 तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे ।41 यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पूजा गरे, अनि तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरूले पनि त्यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्तर त्यसै गर्दैछन् ।