20
ती दिनमा मृत्‍यु नै हुन्‍छ कि जस्‍तो गरी हिजकिया बिरामी परे । त्‍यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्‍छ, ‘तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्‍नेछैनस्’ ।2 तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए,3 “हे परमप्रभु, मेरो सारा हृदयले म कसरी तपाईंको सामु विश्‍वासका साथ हिँडेको छु, र कसरी तपाईंको दृष्‍टिमा जे ठीक थियो, मैले त्‍यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् ।” तब हिजकिया धुरुधुरु रोए ।4 यशैया बीचको चोकमा पुग्‍नु भन्‍दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,5 “फर्की र मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, ‘तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्‍दिरमा माथि उक्लेर जानेछस् ।6 म तेरो जीवनमा पन्ध्र वर्ष आयु थपिदिनेछु, र अश्शूरका राजाको हातबाट म तँलाई र तेरो सहरलाई बचाउनेछु, अनि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु’ ।7 त्‍यसैले यशैयाले भने, “नेभाराको लेप लगाउनुहोस् ।” तिनीहरूले त्‍यसै गरे र तिनको पिलोमा त्‍यो लगाइदिए र तिनी निको भए ।8 हिजकियाले यशैयालाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको चिन्ह के हुनेछ ?9 यशैयाले जवाफ दिए, “तपाईंको लागि परमप्रभुबाट चिन्ह यो हुनेछ कि परमप्रभुले बोल्नुभएको कुरा उहाँले गर्नुहुनेछ । घामको छाया दश सिँढी अगाडि जानुपर्‍यो कि दश सिंढी पछाडि जानुपर्‍यो ?10 हिजकियाले जवाफ दिए, “घामको छायालाई दश सिँढी अगाडि जानु त सामान्‍य कुरो हो । त्‍यो छाया दश सिँढी पछाडि जाओस् ।11 त्‍यसैले यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे र उहाँले घामको छायालाई आहाजको सिँढीमा जहाँ पुगेको थियो त्‍यहाँबाट दश सिँढी पछाडि सार्नुभयो ।12 त्‍यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए ।13 हिजकियाले ती चिठीमा लेखिएका कुरा सुने र त्‍यसपछि ती सन्‍देशवाहकहरूलाई राजदरबारका सबै कुरा र तिनका मूल्यवान् थोकहरू अर्थात् चाँदी, सुन, मसला र बहुमुल्‍य तेल र तिनका हतियारहरूका भण्डार अनि तिनका भण्डारहरूमा भेट्टाइएका सबै थोक देखाए । हिजकियाको आफ्नो घरमा अनि तिनका सारा राज्‍यमा तिनले उनीहरूलाई नदेखाएका कुरा केही थिएन ।14 तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने ? तिनीहरू कहाँबाट आएका हुन् ?” हिजकियाले भने, “तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।15 यशैयाले सोधे, “तपाईंको घरमा तिनीहरूले के-के हेरेका छन् ?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो घरमा भएका हरेक थोक देखेका छन् । मसँग भएका मूल्यवान् थोकहरूमा मैले तिनीहरूलाई नदेखाएका कुनै पनि बाँकी छैन ।16 त्‍यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुको वचन सुन्‍नुहोस्,17 ‘हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्‍म तेरो दरबारमा जम्‍मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्‍छ, कुनै कुरा पनि छाडिनेछैन ।18 तँबाट जन्‍मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस् - तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन्’ ।19 तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “के मेरो समयमा शान्‍ति र स्थिरता हुनेछैन र ?20 हिजकियाका सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनका सबै शक्ति र कसरी तिनले पोखरी र सुरुङ बनाए अनि सहरमा पानी ल्याए भन्‍ने बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्‍तकमा लेखिएका छैनन् र ?21 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।