8
अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जीवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्‍छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्‍म अनिकाल ल्याउने वचन दिनुभएको छ ।2 त्‍यसैले ती स्‍त्री उठिन् र परमेश्‍वरका मानिसको वचन मानिन् । तिनी आफ्ना घरानासित गइन् र सात वर्षसम्‍म पलिश्तीहरूको देशमा बसिन् ।3 सात वर्षको अन्‍त्‍यमा ती स्‍त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ बिन्‍ती चढाउन गइन् ।4 राजाले परमेश्‍वरका मानिसको सेवक गेहजीलाई यसो भन्‍दै थिए, “एलीशाले गरेका सबै महान् काम मलाई भन ।5 तब कसरी एलीशाले मरेको बच्‍चालाई मृत्‍युबाट फेरि जीवित पारेका थिए भनी राजालाई बताइरहँदा मृत्‍युबाट फेरि जीवित भएको बच्‍चाकी आमा आफ्नो परिवार र जमिनको निम्ति बिन्‍ती गर्न राजाकहाँ आइन् । गेहजीले भने, “हे मेरा मालिक राजा, ती स्‍त्री यिनै हुन् र तिनको छोरो यही हो जसलाई एलीशाले मृत्‍युबाट फेरि जीवित पारेका थिए ।6 जब राजाले त्‍यो स्‍त्रीलाई तिनको छोरोको बारेमा सोधे, तब तिनले त्‍यो कुरा उनलाई व्याख्या गरिन् । त्‍यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए, “जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्‍मको उक्त जमिनको उब्‍जनीसमेत तिनैलाई फिर्ता दिनू ।7 एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, “परमेश्‍वरका मानिस यहाँ आएका छन् ।8 राजाले हजाएललाई भने, “आफ्नो हातमा उपहार लेऊ र गएर परमेश्‍वरका मानिसलाई भेट र तिनीद्वारा परमप्रभुसित यसो भनेर सल्‍लाह खोज, ‘के म यस रोगबाट निको हुनेछु ?’ ।9 त्‍यसैले हजाएल तिनलाई भेट्न गए र तिनले आफूसित चालीस वटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे । हजाएल आए र एलीशाको सामु खडा भए र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, ‘के म यस रोगबाट निको हुनेछु’ ?10 एलीशाले तिनलाई भने, “जानुहोस्, र बेन-हददलाई भन्‍नुहोस्, ‘निश्‍चय नै तपाईं निको हुनुहुनेछ’, तर तिनी निश्‍चय नै मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।11 तब हजाएललाई शर्म नलागेसम्‍म एलीशाले तिनलाई एकटक लगाएर हेरे, अनि परमेश्‍वरका मानिस रोए ।12 हजाएलले सोधे, “हे मेरा मालिक, तपाईं किन रुनुहुन्‍छ ?” तिनले जवाफ दिए, “किनकि तपाईंले इस्राएलका मानिसमाथि गर्ने खराबी मलाई थाहा छ । तपाईंले तिनीहरूका किल्लाहरू आगोमा जलाउनुहुनेछ, र तिनीहरूका युवाहरूलाई तरवारले मार्नुहुनेछ अनि तिनीहरूका बालबच्‍चाहरूलाई टुक्राटुक्रा पार्नुहुनेछ र गर्भवती स्‍त्रीहरूका पेट चिर्नुहुनेछ ।13 हजाएलले भने, “तपाईंको दास को हो जसले यति ठूलो काम गरोस् ? ऊ केवल एउटा कुकुर हो ।” एलीशाले भने, “तपाईं अरामका राजा बन्‍नुहुनेछ भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।14 तब हजाएल एलीशाबाट बिदा भए र आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे, “एलीशाले तिमीलाई के भने ?” तिनले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए ।15 तब अर्को दिन हजाएलले कम्बल लिए र त्‍यो पानीमा चोपे, अनि त्‍यो बेन-हददको मुखमा राखिदिए र यसरी तिनी मरे । त्‍यसपछि तिनको ठाउँमा हजाएल राजा भए ।16 इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले ।17 यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे ।18 आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिँडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्‍यही तिनले गरे ।19 तापनि, परमप्रभुका दास दाऊदको कारणले उहाँले यहूदालाई नष्‍ट गर्न चाहनुभएन, किनकि तिनलाई सधैँ सन्‍तानहरू दिनेछु भनी उहाँले तिनलाई भन्‍नुभएको थियो ।20 यहोरामको समयमा, यहूदाको विरुद्धमा एदोम बागी भयो र आफ्‍नो निम्‍ति आफैले राजा नियुक्त गर्‍यो ।21 त्‍यसपछि यहोराम आफ्ना सबै रथ लिएर जाईरमा गए । जब एदोमीहरूले यहोरामलाई घेरा हाले, तब तिनका रथ सेनापतिहरू उठे र तिनीहरूलाई रातमा आक्रमण गरे । तर यहोरामका सेना भागे र आ-आफ्ना घर फर्के ।22 त्‍यसैले आजको दिनसम्‍म नै एदोम यहूदाको शासनको विरुद्धमा बागी भएको छ । त्‍यसै बेला लिब्‍ना पनि बागी भयो ।23 यहोराम, र तिनले गरेका सबै कामका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्‍तकमा लेखिएका छैनन् र ?24 यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । त्‍यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्‍याह राजा भए ।25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्‍याहले राज्‍य गर्न सुरु गरे ।26 अहज्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।27 अहज्‍याह आहाबको घरानाका चालमा हिँडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्‍यही गरे किनकि अहज्‍याह आहाबको घरानाका ज्वाइँ थिए ।28 रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्‍याह गए । अरामीहरूले योरामलाई घाइते बनाए ।29 अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्‍यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।