9
अगमवक्ताहरूका छोराहरूमध्‍ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, “यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ ।2 तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बीचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।3 त्‍यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्‍याऊ, र भन, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु” ।’ तब ढोका खोल, र दौड । ढिलो नगर ।4 त्‍यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए ।5 तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्‍यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्‍ये कसलाई ?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।6 त्‍यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्‍याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।7 तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सकूँ ।8 किनकि आहाबको पूरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्‌यान्‍न पार्नेछु ।9 म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्‍याहका छोरा बाशाको घराना जस्‍तै तुल्याउनेछु ।10 ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्‍यसलाई गाड्ने कोही हुनेछैन’ ।” तब अगमवक्ताले ढोका खोले र भागे ।11 तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठीकै छ ? यो पागल मान्‍छे किन तपाईंकहाँ आएको ?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्‍छन् भनेर तिमीहरू जान्‍दछौ ।12 तिनीहरूले भने, “त्‍यो कुरा झूट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यसो र उसो भने अनि यसो पनि भने, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु’ ।13 तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिँड्‍ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्‍छ ।14 यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्‌यन्‍त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,15 तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्‍तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।16 त्‍यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्‍यहीँ विश्राम गर्दै थिए । त्‍यस बेला यहूदाका राजा अहज्‍याह योरामलाई भेट्न तल झरेका थिए ।17 यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्‍यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्‍यसले भन्‍यो, “मानिसहरूको एउटा समूह आइरहेको म देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्‍यसलाई यसो भन्‍न लगा, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो’ ?18 त्‍यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्‍यसले भन्‍यो, “राजा यसो भन्‍नुहुन्‍छ, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो’ ?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार ? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्‍यो, “सन्‍देशवाहकले तिनीहरूलाई भेट्‌यो, तर त्‍यो फर्केर आएन ।19 तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्‍यो तिनीहरूकहाँ आएर भन्‍यो, “राजा यसो भन्‍नुहुन्‍छ, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो’ ?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार ? फर्केर मेरो पछि लाग् ।20 फेरि पहरेदारले भन्‍यो, “त्‍यसले तिनीहरूलाई भेटेको छ, तर त्‍यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्‍यो त निम्शीका छोरा येहूले हाँके जस्‍तै छ । तिनले बौलाहाले जस्‍तै हाँक्दैछन् ।21 त्‍यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्‍याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे ।22 योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएका हौ ?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्‍छ ?23 त्‍यसैले योरामले आफ्नो रथ घुमाए र अहज्‍याहलाई यसो भनेर भागे, “अहज्‍याह, धोका भएछ ।24 तब येहूले आफ्नो धनु निकाले र पूरा शक्ति लगाएर योरामका काँधहरूका बीचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्‌यो, र तिनी आफ्नो रथमा लडे ।25 तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा विचार गरः26 ‘हिजो मैले नाबोतको रगत र त्‍यसका छोराहरूको रगत देखेँ - परमप्रभु घोषणा गर्नुहुन्‍छ - निश्‍चय नै म यही खेतमा त्‍यसको बदला लिनेछु - परमप्रभु घोषणा गर्नुहुन्‍छ ।’ अब तिनलाई उठाऊ र परमप्रभुको वचनअनुसार यही खेतमा फालिदेऊ ।27 जब यहूदाका राजा अहज्‍याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्‍याह मगिद्दोमा भागे, र त्‍यहीँ मरे ।28 तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेममा ल्याए, र दाऊदको सहरमा तिनका पुर्खाहरूसित तिनकै चिहानमा गाडे ।29 आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्‍याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए ।30 येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन्, र तिनले आफ्ना आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट हेरिन् ।31 येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, “ए आफ्ना मालिकका हत्‍यारा जिम्री, के तिमी मित्रभावले आएका हौ ?32 येहूले माथि झ्यालमा हेरे र भने, “मेरो पक्ष लिने को छ ? को छ ?” तब दुई वा तीन जना नपुंसकले बाहिर हेरे ।33 येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्‍यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए ।34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्‍पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् ।36 त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, ‘यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,37 र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्‍तो भन्‍न नसकोस्, ‘यो ईजेबेल हो’ ।”