7
एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बिक्री हुनेछ’ ।2 तब जुन अधिकारीको हातको भरमा राजा हिँड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्‍वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमीले देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।3 मूल ढोकाको ठीक बाहिर कुष्‍ठरोग लागेका चार जना मानिसहरू थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्‍म हामी यहाँ किन बसिरहने ?4 हामी सहरमा जाऔँ भनौँ भने, सहरमा अनिकाल परेको छ र हामी त्‍यहाँ मर्नेछौँ । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।5 त्‍यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्‍यहाँ कोही पनि थिएन ।6 किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍ला जस्‍तै - अर्को ठूलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।7 त्‍यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्‍तै छाडे र आफ्‍नो ज्‍यान बचाउन भागे ।8 जब कुष्‍ठरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्‍यहाँबाट पनि लूटका माल लगे र लुकाए ।9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले ठीक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहान नभएसम्‍म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । त्‍यसैले अब, हामी जाऔँ र राजाको घरानालाई भनौँ ।10 त्‍यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्‍यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन, तर त्‍यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्‍तै थिए ।11 तब पालेहरूले त्‍यो खबर ठूलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो ।12 तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्‍नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्‍यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । तिनीहरू भन्‍दैछन्, ‘जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्‍नेछौँ, र सहरभित्र पस्‍नेछौँ’ ।13 राजाका एक जना सेवकले जवाफ दिए र भने, “केही मानिसहरूले बाँकी रहेका पाँच वटा घोडाहरू लिएर जाऊन्, जुन सहरमा छाडिएका छन् । तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्या जस्‍तै छन् - अधिकांश अब मरिसकेका छन् । हामी तिनीहरूलाई पठाऔँ र हेरौँ ।14 त्‍यसैले तिनीहरूले घोडाहरूसँगै दुई वटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, “जाओ र हेर ।15 तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामानहरूले सबै बाटो भरिएका थिए । त्‍यसैले सन्‍देशवाहकहरू फर्के र राजालाई बताइदिए ।16 मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्‍यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बेचियो ।17 जसको हातमा भर परेर राजा हिँड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्‍मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजा परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरे जस्‍तै तिनको मृत्‍यु भयो ।18 त्‍यसैले त्‍यही नै भयो जस्‍तो परमेश्‍वरका मानिसले राजालाई भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तीन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पीठो पाइनेछ ।19 ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्‍वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमीले देख्‍नेछौ, तर तिमीले त्‍यो खान पाउनेछैनौ ।20 तिनलाई ठीक त्‍यस्‍तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।