11
अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्ती जस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।2 तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बीचमा नजाओ, न त तिनीहरू तिमीहरूका बीचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका हृदय तिनीहरूका देवताहरूतर्फ फर्काउनेछन् ।” यस आज्ञाको बाबजुद पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।3 सोलोमनका सात सय जना राजकीय पत्नी र तीन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको हृदयलाई बहकाइदिए ।4 किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको हृदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको हृदय तिनका पिता दाऊदको हृदय जस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन ।5 किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे ।6 सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् ।7 तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पूजा गर्ने अग्लो स्थान बनाए ।8 तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पूजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे ।9 परमप्रभु सोलोमनसित रिसाउनुभयो, किनकि तिनको हृदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो,10 र यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो । तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन् ।11 त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिनेछु ।12 तथापि तेरा पिता दाऊदको खातिर म तेरो जीवनकालमा यसो गर्दिनँ, तर तेरो छोरोको पालमा त्यसको हातबाट म यसलाई विभाजन गरिदिनेछु ।13 तापनि म सबै राज्य खोस्दिनँ । मेरा दास दाऊदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म एउटा कुल तेरो छोरोलाई दिनेछु ।14 तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो । तिनी एदोमको राजकीय घरानाका थिए ।15 दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।16 योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए ।17 तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो ।18 तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए ।19 हददले फारोको दृष्टिमा ठूलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए ।20 तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बीचमा राजदरबारमा हुर्किए ।21 तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।22 तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।23 परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।24 दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए ।25 तिनी सोलोमनको जीवनभर इस्राएलका शत्रु थिए, र हददले पुर्याउने सङ्कष्टमा तिनले पनि साथ दिए । रेसोनले इस्राएललाई घृणा गर्थे र तिनले अराममाथि शासन गरे ।26 तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् ।27 तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।28 यारोबाम एक शक्तिशाली मानिस थिए । तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए ।29 त्यस बेला यारोबाम यरूशलेममा जाँदा शीलोका अहियाह अगमवक्ताले तिनलाई बाटोमा भेटे । अहियाहले नयाँ खास्टो लगाएका थिए र मैदानमा दुई जना मानिस मात्र थिए ।30 तब अहियाहले आफूले लगाएको नयाँ खास्टो निकाली त्यसलाई च्यातेर बाह्र टुक्रा बनाए ।31 तिनले यारोबामलाई भने, “दश वटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर, परमप्रभु यसो भन्नुहुन्छ, ‘हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दश कुल दिनेछु,32 (तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिनेछु),33 किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पूजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठीक छ त्यही गर्न र मेरा विधिविधानहरू, मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन ।34 तथापि म सोलोमनको हातबाट पूरै राज्य भने खोस्दिनँ । बरु, मेरा आज्ञाहरू र मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु ।35 तर म त्यसको छोरोको हातबाट राज्य खोसेर म दश कुललाई दिनेछु ।36 म एउटा कुल सोलोमनको छोरोलाई दिनेछु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् ।37 म तँलाई चाहिँ लिनेछु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुनेछस् ।38 मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठीक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुनेछु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउनेछु, अनि इस्राएलचाहिँ म तँलाई दिनेछु ।39 म दाऊदका सन्तानहरूलाई दण्ड दिनेछु, तर सदाको निम्ति भने होइन ।40 त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।41 सोलोमनले गरेका अन्य कामहरू र तिनको बुद्धिको विषयमा के सोलोमनको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?42 सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालीस वर्षसम्म शासन गरे ।43 तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।