10
जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्‍नहरू लिएर तिनलाई जाँच गर्न आइन् ।2 उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्‍नहरू लिएर ज्‍यादै ठूलो लावालश्करसाथ यरूशलेम आइन् । उनी आइपुगेपछि उनले आफ्नो हृदयमा भएका सबै कुरा सोलोमनलाई बताइन् ।3 सोलोमनले उनका सबै प्रश्‍नका जवाफ दिए । उनले सोधेका सबै प्रश्‍नको राजाले जवाफ दिए ।4 जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार,5 तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्‍ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन् ।6 उनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ ।7 म यहाँ नआएसम्म मैले सुनेको कुरामा मैले विश्‍वास गरिनँ । अब मेरा आफ्नै आँखाले मैले देखेको छु । तपाईंको बुद्धि र धन-सम्पत्तिको बारेमा मलाई आधा मात्र बताइएको रहेछ ! तपाईंको कीर्ति मैले सुनेको भन्‍दा ज्‍यादा रहेछ ।8 तपाईंका पत्‍नीहरू कति प्रसन्‍न होलान् ! तपाईंको बुद्धि सुन्‍न पाएकाले तपाईंको सामु निरन्‍तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्‍न होलान् !9 परमप्रभु तपाईंका परमेश्‍वरको स्तुति होस् जो तपाईंमा प्रसन्‍न हुनुहुन्‍छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्‍नुभएको छ । परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्‍याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ ।10 उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्‍नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन ।11 ओपीरबाट सुन ल्याउने हीरामका जहाजहरूले पनि ठूलो परिमाणमा चन्‍दनको काठ र बहुमूल्य पत्थरहरू ल्याउँथे ।12 राजाले ती चन्‍दनका काठहरूबाट परमप्रभुको मन्‍दिर र राजदरबारका खम्बाहरू बनाउनुका अतिरिक्त गायकहरूका लागि वीणा र सारङ्‌गीहरू बनाए । चन्‍दनको काठको यति धेरै परिमाण आजको दिनसम्म फेरि कहिल्यै देखिएको छैन ।13 राजा सोलोमनले शेबाकी रानीले इच्‍छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्त उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।14 सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको ओजन तेइस टन थियो ।15 यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे । अरब देशका सबै राजा र प्रादेशिक राज्‍यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे ।16 सोलोमन राजाले पिटेको सुनबाट दुई सय वटा ठूला-ठूला ढाल बनाए । प्रत्‍येक ढाल बनाउन साढे तीन किलोग्राम लागेको थियो ।17 तिनले पिटेको सुनका तीन सय वटा स-साना ढाल पनि बनाए । प्रत्‍येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो । राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे ।18 त्‍यसपछि राजाले हस्ती-हाडको एउटा ठूलो सिंहासन बनाई त्‍यसलाई सबै भन्‍दा उत्तम सुनले मोहोरे ।19 सिंहासनमा उक्लने छ वटा खुड्किला थिए, र यसको पछाडिपट्टि गोलाकार टुप्‍पो थियो । बस्‍ने आसनको दुवैपट्टि हात अड्‌याउने बाहु थिए, र बाहुका छेउ-छेउमा उभिएका एक-एक वटा सिंह थिए ।20 छवटै खुट्किलाको एक-एकपट्टि एउटा-एउटा सिंह गरी खुड्किलाहरूमा बाह्र वटा सिंहहरू खडा थिए । अन्‍य कुनै पनि राज्‍यमा यस्तो किसिमको सिंहासन थिएन ।21 सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए, र लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए । कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठाँनिदैनथ्यो ।22 हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए । हरेक तीन वर्षमा एक पटक जहाजहरूले सुन, चाँदी, हस्ति-हाडसाथै ढेडु र बाँदरहरू ल्याउने गर्थे ।23 यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजा भन्‍दा श्रेष्‍ठ थिए ।24 परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे ।25 तिनलाई भेट्नेहरूले हरेक वर्ष कोसेली, सुन र चाँदीका भाँडाकुँडाहरू, लुगाहरू, हातहतियार, मसलासाथै घोडा र खच्‍चरहरू ल्याउँथे ।26 सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सय वटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्‍ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्‍ने गर्थे ।27 राजाले यरूशलेममा चाँदी जमिनको ढुङ्‌गासरह बनाए । तिनले देवदारुचाहिँ पहाडका जङ्‌गली अञ्‍जीरका बोटहरूसरह प्रशस्त तुल्याए ।28 सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्‍थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्‍ने गर्थे ।29 मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्‍थ्यो । त्‍यसपछि यीमध्‍ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्‍थे ।