11
त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौँ ।2 अम्मोनी नाहाशले जवाफ दिए, “तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।3 तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौँ । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौँ ।4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।5 यति बेला शाऊल खेतबाट गोरुहरू लिएर आउँदै थिए । शाऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन् ?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।6 जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्यो र तिनीहरू एक जना मानिसझैँ एकसाथ निस्केर आए ।8 जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मानिसहरू तीन लाख जना थिए र यहूदाका मानिसहरू तीस हजार जना थिए ।9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, ‘भोलि यति बेला मध्यान्हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ’ ।” त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए ।10 तब याबेशका मानिसहरूले नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौँ, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।11 भोलिपल्ट शाऊलले मानिसहरूलाई तीन समूहमा विभाजन गरे । बिहानको पहरमा तिनीहरू छाउनी बीचमा आए र तिनीहरूले आक्रमण गरे र मध्यान्हसम्ममा अम्मोनीहरूलाई पराजित गरे । ती जीवित रहेकाहरू सबै यसरी छरपष्ट भए कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन् ।12 तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने ‘के शाऊलले हामीमाथि राज्य गर्नेछ र ?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौँ ।13 तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौँ र त्यहाँ राजसत्ताप्रति फेरि भक्ति जनाउनेछौँ ।15 त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगालमा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्दित भए ।