19
ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्‍यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबै भन्‍दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए ।2 तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई । त्‍यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्‍यो त्‍यहाँ चार महिनासम्म बसी ।3 त्‍यसपछि त्‍यसका पति उठे र त्‍यसलाई फकाएर फिर्ता ल्याउनलाई त्‍यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्‍यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्‍यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए ।4 तिनका ससुरा, त्‍यस स्‍त्रीका बुबाले तीन दिन त्‍यहीँ बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्‍यहीँ कटाए ।5 चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्‍यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।6 त्‍यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्‍यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।7 जब ती लेवी जानलाई उठे, तब त्‍यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बदले र त्‍यहाँ फेरि अर्को रात बिताए ।8 पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्‍यस स्‍त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे ।9 जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्‍यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्‍छ ।10 तर ती लेवीलाई त्‍यो रात बिताउन इच्‍छुक भएनन् । तिनी उठे र गए । तिनी यबूसतर्फ (अर्थात् यरूशलेम) लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्‍नी तिनीसँगै थिई ।11 तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्‍यस सेवकले आफ्‍नो मालिकलाई भन्‍यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्‍यहाँ बिताऔँ ।12 त्‍यसका मालिकले त्‍यसलाई भने, “हामी परदेशीहरूको सहरतर्फ जानेछैनौँ जो इस्राएलका मानिसहरू होइनन् । हामी गिबामा जानेछौँ ।13 ती लेवीले आफ्नो त्‍यो जवान मानिसलाई भने, “जाऔँ, गिबा वा रामामध्‍ये कुनै एक ठाउँमा यो रात बिताऔँ ।14 यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्‍यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।15 तिनीहरू त्‍यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्‍यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् ।16 तर त्‍यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्‍यस ठाउँमा बस्‍ने मानिसहरू बेन्‍यामिनीहरू थिए ।17 तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्‍छ ? तपाईंहरू कहाँबाट आउनुभएको हो ?18 ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबै भन्‍दा दुर्गम ठाउँमा जाँदैछौँ, जहाँको म बासिन्‍दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदै छु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।19 हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्‍ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिँदैन ।20 ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्‍ति ! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।21 त्‍यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।22 जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्‍यससँग सहवास गर्नेछौँ ।23 घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस् ! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस् !24 हेर्नुहोस्, मेरी कन्‍ये छोरी र तिनकी उपपत्‍नी यहीँ छन् । म तिनीहरूलाई अहिल्यै बाहिर ल्याउनेछु । तिनीहरूलाई तपाईंहरूले जे इच्‍छा गर्नुहुन्‍छ, त्‍यही गर्नुहोस् । तर यी मानिसलाई त्‍यस्तो दुष्‍ट काम नगर्नुहोस् ।25 तर ती मानिसहरूले तिनको कुरा सुनेनन्, यसैले त्‍यस मानिसले आफ्‍नी उपपत्‍नीलाई समाते र उसलाई बाहिर लगे । तिनीहरूले त्‍यसलाई बलात्कार गरे र रातभरी त्‍यसलाई दुर्व्यवहार गरे, र झिसमिसेमा त्‍यसलाई छोडिदिए ।26 झिसमिसेमा त्‍यो स्‍त्री आई र त्‍यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्‍यसका मालिक थिए, र बिहान नभएसम्म त्‍यो त्‍यहीँ नै लडिरही ।27 त्‍यसका मालिक बिहान उठे र घरका ढोकाहरू खोले र आफ्नो बाटो जानलाई हिँडे । तिनले आफ्नी उपपत्‍नीलाई आफ्नो हात पसारेर ढोकामा लडिरहेकी देखे ।28 ती लेवीले त्‍यसलाई भने, “उठ, जाऔँ ।” तर केही जवाफ आएन । तिनले त्‍यसलाई आफ्नो गधामा राखे, र ती मानिस घर जान हिँडे ।29 जब ती लेवी घर पुगे, तिनले एउटा छुरी लिए, र आफ्नी उपपत्‍नीलाई समाए र अङ्‌ग-अङ्‌ग गरी बाह्र टुक्रा गरी काटे र ती टुक्राहरूलाई इस्राएलभरी पठाए ।30 यो देख्‍ने सबैले भने, “इस्राएलका मानिसहरू मिश्र देशबाट बाहिर आएदेखि आजको दिनसम्म यस्तो कहिल्यै गरिएको वा देखिएको थिएन । यसको बारेमा विचार गर ! हामीलाई सल्लाह देओ ! हामीले के गर्ने हामीलाई बताओ !”