17
एफ्राइमको पहाडी देशमा एक जना मानिस थिए, र तिनको नाउँ मीका थियो ।2 तिनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका १,१०० चाँदीका सिक्‍का, जसको विषयमा तपाईंले सराप दिनुभएको थियो, र जुन मैले सुनेको थिएँ, हेर्नुहोस् । ती चाँदी मसँग छन् । मैले ती चोरेँ ।” तिनकी आमाले भनिन्, “मेरो छोरा, परमप्रभुले तिमीलाई आशिष् दिऊन् !3 तिनले ती चाँदीका १,१०० सिक्‍काहरू आफ्नी आमालाई दिए र तिनकी आमाले भनिन्, “खोपिएको र ढलौटे मूर्तिहरू बनाउनलाई मेरो छोराको निम्ति यो चाँदी म परमप्रभुमा अलग गर्छु । यसैले अब यो म तिमीलाई दिन्‍छु ।4 जब तिनले त्‍यो पैसा आफ्नी आमालाई दिए, तब तिनकी आमाले चाँदीका दुई सय सिक्‍का लिईन् र त्‍यो शिल्पकारलाई दिईन् जसले तीबाट खोपिएको र ढलौटे मूर्तिहरू बनाए, र ती मीकाको घरमा राखियो ।5 त्‍यो मानिस मीकासित मूर्तिहरूको एउटा घर थियो र तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र तिनले आफ्ना छोरामध्‍ये एक जनालाई पूजाहारी हुनको निम्ति नियुक्त गरे ।6 ती दिनहरूमा इस्राएलमा कोही राजा थिएन, र हरेकले आफ्नो दृष्‍टिमा जे ठीक लाग्थ्यो त्‍यही गर्थ्यो ।7 यहूदाको बेथलेहेमका यहूदाका वंशका एक जना जवान मानिस थिए जो एक जना लेवी थिए । आफ्नो जिम्मेवारी पूरा गर्न तिनी त्‍यहाँ बसे ।8 ती मानिसले यहूदाको बेथलेहेमलाई छोडेर गए र बस्‍ने एउटा ठाउँ खोजे । तिनले यात्रा गर्दै जाँदा, तिनी एफ्राइमको पहाडी देशमा भएको मीकाको घरमा आए ।9 मीकाले तिनलाई भने, “तिमी कहाँबाट आएका हौ ?” ती मानिसले तिनलाई भने, “म यहूदाको बेथलेहेमको एउटा लेवी हुँ, र बसोबास गर्नको निम्ति ठाउँ खोज्‍न भनेर म यात्रा गरिरहेको छु ।10 मीकाले तिनलाई भने, “मसँग बस, र मेरो निम्ति बुबा र पूजाहारी होऊ । म तिमीलाई वर्षको दश सिक्‍का चाँदी, एक जोर लुगा र तिम्रो खाना दिनेछु ।” यसैले ती लेवी तिनको घरभित्र गए ।11 ती लेवी मीकासँग बस्‍न सन्‍तुष्‍ट भए, र ती जवान मानिस मीकाका छोरामध्‍ये एक जनाझैँ भए ।12 मीकाले ती लेवीलाई पवित्र जिम्‍मेवारीका लागि अलग गरे, र ती जवान मानिस तिनको पूजाहारी भए, र मीकाको घरमा बसे ।13 तब मीकाले भने, “अब मलाई थाहा छ, कि परमप्रभुले मेरो निम्ति असल गर्नुहुनेछ, किनभने त्‍यो लेवी मेरो पूजाहारी बनेको छ ।”