15
केही दिनपछि, गहू कटनीको समयमा, शिमशोनले एउटा पाठो लिए र आफ्नी पत्‍नीलाई भेट्न गए । तिनले मनमनै भने, “म मेरी पत्‍नीको कोठामा जानेछु ।” तर उनका बुबाले तिनलाई भित्र जान दिएनन् ।2 उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्‍छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्‍यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्‍छी बहिनी उनी भन्‍दा सुन्‍दरी छिन् । तिनैलाई लैजानुहोस् ।3 शिमशोनले तिनीहरूलाई भने, “यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिँदा म निर्दोष हुनेछु ।4 शिमशोन गए र तीन सय वटा स्यालहरू समाते र हरेकलाई दुई-दुईचटा गरेर पुच्‍छर-पुच्‍छर बाँधिदिए । तब तिनले राँको लिएर हरेक जोडीको पुच्‍छरको बीचमा राखे ।5 जब तिनले राँकाहरूमा आगो सल्काए, तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्‍नमा छोडिदिए, र तिनीहरूले जम्‍मा गरेर राखिएका अन्‍न र खेतमा पाकेका अन्‍न दुवैमा, दाखवारीहरू र जैतूनका बगैँचाहरूलाई डढाए ।6 पलिश्तीहरूले सोधे, “यो कसले गर्‍यो ?” तिनीहरूलाई भनियो, “तिम्‍नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्‍नाका मानिसहरूले शिमशोनकी पत्‍नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्‍यसपछि पलिश्तीहरू गएर त्‍यस स्‍त्री र त्‍यसका बुबालाई जलाइदिए ।7 शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्‍यसो गरेपछि मात्र म रोकिनेछु ।8 तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्राटुक्रा गरी काटे र धेरैको हत्‍या गरे । त्‍यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।9 त्‍यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।10 तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ ?” तिनीहरूले भने, “शिमशोनलाई समातौँ र त्‍यसले हामीलाई जे गरेको छ त्‍यसलाई त्‍यस्तै गरौँ भनेर हामी आक्रमण गर्दै छौँ ।11 तब यहूदाका तीन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन् ? यो तिमीले हामीलाई के गरेका छौ ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्‍तो गरे, अनि मैले पनि तिनीहरूलाई त्‍यस्तै गरेँ ।12 तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौँ ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैले मलाई मार्नेछैनौ ।13 तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्‍नेछौँ र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौँ । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौँ ।” यसैले तिनीहरूले तिनलाई दुई वटा नयाँ डोरीले बाँधे र त्‍यस चट्टानबाट माथि ल्याए ।14 जब तिनी लहीमा आए, पलिश्तीहरूले तिनलाई भेट्नेबित्तिकै ठूलो स्वरमा कराउँदै आए । अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो । तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैँ भए, र तिनीहरू तिनका हातबाट झरे ।15 शिमशोनले एउटा गधाको आलो बङ्‌गारो भेट्टाए, र तिनले त्‍यो उठाए र त्‍यसैले एक हजार जना मानिसलाई मारे ।16 शिमशोनले भने, “एउटा गधाको बङ्‌गारोले रासमाथि रास पारेँ । एउटा गधाको बङ्‌गारोले मैले एक हजार जना मानिसलाई मारेँ ।17 जब शिमशोनले बोलिसके, तब तिनले त्‍यो बङ्‌गारोलाई फालिदिए, र तिनले त्‍यस ठाउँलाई रामत-लही नाउँ राखे ।18 शिमशोन धेरै तिर्खाए र परमप्रभुलाई पुकारा गरे र भने, “तपाईंले आफ्नो दासलाई यो महान् विजय दिनुभएको छ, तर के अब म तिर्खाले मर्नेछु, अनि खतना नभएका मानिसहरूका हातमा पर्नेछु ?19 परमेश्‍वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्‍यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्‍यस ठाउँको नाउँ एन-हक्‍कोरे राखे, र आजको दिनसम्मै त्‍यो लहीमा छ ।20 शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बीस वर्ष न्‍याय गरे ।