14
शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्ये एक जना स्त्रीलाई तिनले देखे ।2 जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्ये एक जना स्त्रीलाई देखेँ । तिनलाई मेरो पत्नी हुनलाई ल्याइदिनुहोस् ।3 तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्त्री छैन र ? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्नी लिन जाँदैछौ ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्छ ।4 तर तिनका बुबा र आमालाई यो कुरा परमप्रभुबाट आएको हो भन्ने कुरा थाहा थिएन, किनकि उहाँले पलिश्तीहरूसँग झगडा ल्याउने योजना गर्नुभएको थियो (किनकि त्यो समयमा पलिश्तीहरूले इस्राएलमाथि शासन गरिरहेको थियो) ।5 तब शिमशोन आफ्ना बुबा र आमासँग तल तिम्नामा गए, र तिनीहरू तिम्नाको दाखबारीमा गए । अनि हेर, त्यहाँ जवान सिंहहरूमध्ये एउटा माथि आयो र तिनीमाथि गर्जन थाल्यो ।6 परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैँ तुरुन्तै त्यो सिँहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन । तर आफूले जे गरेका थिए, त्यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन् ।7 तिनी गए र त्यो स्त्रीसँग कुरा गरे, र जब शिमशोनले उनलाई हेरे, तब उनले तिनलाई खुसी पारिन् ।8 केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के, तब त्यो सिंहको सिनु हेर्नलाई तिनी त्यतातिर गए । अनि हेर, तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड र मह थियो ।9 तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए । जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए । तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्ने कुरा तिनले भनेनन् ।10 शिमशोनका बुबा तल त्यो स्त्री भएको ठाउँमा गए, र शिमशोनले त्यहाँ एउटा भोज दिए, किनकि त्यो दुलहाले गर्नैपर्ने प्रचलन थियो ।11 स्त्रीका नातेदारहरूले तिनलाई देख्ने बित्तिकै, तिनीहरूले आफ्ना तीस जना साथी तिनीसँग बस्नलाई ल्याए ।12 शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु । तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्न सक्यो भने, म तिमीहरूलाई तीस वटा सुतीका लबेदा र तीस थान लुगाहरू दिनेछु ।13 तर तिमीहरूले मलाई उत्तर भन्न सकेनौ भने, तिमीहरूले मलाई तीस वटा सुतीका लबेदा र तीस थान लुगाहरू दिनुपर्नेछ ।” तिनीहरूले उनलाई भने, “हामीलाई तिम्रो अड्को भन, ताकि हामी त्यो सनौँ ।14 तिनले उनीहरूलाई भने, “खानेबाट केही खाने कुरो निस्क्यो, बलियोबाट केही गुलियो कुरो निस्क्यो ।” तर तिनका पाहुनाहरूले तीन दिनमा त्यसको उत्तर पाउन सकेनन् ।15 चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौँ । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ ?16 शिमशोनकी पत्नी तिनको सामु रुन थालिन् । उनले भनिन्, “तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ ! तपाईंले मलाई प्रेम गर्नुहुन्न । तपाईंले मेरा केही मानिसलाई अड्को थाप्नुभएको छ, तर तपाईंले मलाई उत्तर भन्नुभएको छैन ।” शिमशोनले त्यसलाई भने, “यता हेर, मैले मेरो बुबा वा आमालाई त भनेको छैनँ, त के म तिमीलाई भनूँ ?17 भोजको सातौँ दिनसम्म त्यो रोई । सातौँ दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन् । उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई ।18 सातौँ दिनमा सूर्य अस्ताउन अघि सहरका मानिसले तिनलाई भने, “मह भन्दा गुलियो के हुन्छ र ? सिंह भन्दा बलियो के हुन्छ र ?” शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले मेरो कोरलीलाई नजोतेका भए, तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ ।19 तब परमप्रभुको आत्मा अचानक शक्तिको साथमा शिमशोनमाथि आउनुभयो । शिमशोन तल अश्कलोनमा गए र तिनीहरूका तीस जना मानिसहरूलाई मारे । तिनले तिनीहरूका लूटका सामान लिए, र त्यो अड्को फुकाउने मानिसहरूलाई तिनीहरूका लुगाहरू दिए । रीसले चूर भएर तिनी आफ्ना बुबाका घरमा गए ।20 शिमशोनको साथमा बसेको मित्रलाई तिनको पत्नी दिएर पठाइयो ।