6
इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्‍द थिए । कोही पनि बाहिर आउँदैनथ्यो र भित्र पस्दैनथ्यो ।2 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु ।3 तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू ।4 सात जना पूजाहारीले सन्‍दूकको अगि सात वटा भेडाका सीङका सात वटा तुरही बोक्‍नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पूजाहारीहरूले तुरही फुक्‍नू ।5 त्‍यसपछि तिनीहरूले भेडाको सीङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्‍यो आवाज सुन्‍छौ सबै मानिस ठूलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्नेछ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।6 अनि नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “करारको सन्‍दूक बोक, र सात जना पूजाहारीले परमप्रभुको सन्‍दूक अगिअगि भेडाका सात वटा सीङका तुरहीहरू बोकून् ।7 तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्‍दूकअघि जानेछन् ।8 यहोशूले मानिसहरूलाई भने जस्‍तै सात जना पूजाहारीले परमप्रभुको सामु भेडाका सीङहरूको सात वटा तुरही बोके । तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके । परमप्रभुको करारको सन्‍दूक तिनीहरूको पछिपछि थियो ।9 सशस्‍त्र मानिसहरू पूजाहारीहरूको अगिअगि हिँडे र तिनीहरूले तिनीहरूका तुरहीहरू फुके, तर पछाडिका सुरक्षाकर्मीहरू सन्‍दूकको पछिपछि हिँडे र पूजाहारीहरूले तिनीहरूको तुरही निरन्‍तर रूपमा फुकिरहे ।10 तर यहोशूले यसो भन्‍दै मानिसहरूलाई आज्ञा दिए, “नकराओ । मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् । त्‍यसपछि मात्र कराओ ।11 त्‍यसैले तिनले परमप्रभुको सन्‍दूकलाई त्‍यस दिन सहरको वरिपरि एक पटक जान लगाए । अनि तिनीहरू छाउनी प्रवेश गरे र राति छाउनीमा नै बसे ।12 यहोशू बिहान सबेरै उठे र पूजाहारीहरूले परमप्रभुको सन्‍दूक बोके ।13 परमप्रभुको सन्‍दूकअगि भेडाको सीङको सात वटा तुरही बोक्‍ने सात जना पूजाहारी लगातार हिँडिरहे र तुरही फुकिरहे । सशस्‍त्र सिपाहीहरू तिनीहरूको अगि हिँडिरहेका थिए । तर पछिल्तिरका सुरक्षाकर्मीहरू परमप्रभुको सन्‍दूकको पछिपछि हिँडे । त्‍यसपछि तुरही लगातार बजाइयो ।14 तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे ।15 सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्‍यस दिन पनि सहरको फेरो मारे । त्‍यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे ।16 जब सातौँ दिनमा पूजाहारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, “कराओ ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ ।17 यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ । राहाब र तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्‍नेछन्, किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन् ।18 तर तिमीहरूचाहिँ विनाशको निम्ति अलग गरिएका थोकहरू लिने कुरामा सावधान होओ, ताकि तिमीहरूले तिनीहरूलाई विनाशको निम्ति चिनो लगाओ, र तिमीहरूले तिनीहरूमध्‍ये कुनै पनि नलेओ । यदि तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले इस्राएलको छाउनीलाई विनाश गरिनु पर्ने थोक जस्‍तै तुल्याउनेछौ र तिमीहरूले यसमाथि कष्‍ट ल्याउनेछौ ।19 सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।20 जब तिनीहरूले तुरही फुके, मानिसहरू ठूलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्‍यसैले हरेक मानिस सोझै अगि बढ्‌यो र सहर कब्जा गरियो ।21 तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।22 त्‍यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ । ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ ।23 त्‍यसैले त्‍यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए । तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए । तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए ।24 तिनीहरूले सहर र यसमा भएका सबै थोकलाई जलाए । चाँदी, सुन, काँसामा भाँडाहरू र फलामलाई मात्र परमप्रभुको घरमा राखियो ।25 तर यहोशूले राहाब वेश्या, उनको बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवितै राखे । उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन्, किनभने उनले यहोशूले यरीहोको जासूस गर्न पठाएका मानिसहरूलाई लुकाइन् ।26 त्‍यसपछि यहोशूले तिनीहरूलाई त्‍यस बेला शपथ खान लगाएर यसो भन्‍दै आज्ञा दिए, “यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् । त्‍यसको जेठो छोरोको मूल्यमा जग बसालिनेछ, र त्‍यसको कान्‍छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिनेछ ।27 परमप्रभु यहोशूसँग हुनुहुन्‍थ्यो, र तिनको कीर्ति सारा मुलुकभरि फैलियो ।