7
तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो ।2 यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्‍यस भूमिको भेद लेओ ।” त्‍यसैले तिनीहरू ऐको जासूसी गर्नलाई गए ।3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तीन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् ।4 त्‍यसैले फौजबाट झण्डै तीन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए ।5 ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्‌गाको थुप्रोसम्म लखेट्दा छत्तीस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानी जस्‍तै भयो ।6 तब यहोशूले आफ्‍नो लुगा च्‍याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्‍दूकको सामु भुइँमा घोप्‍टो परेर लम्पसार परिरहे ।7 त्‍यसपछि यहोशूले भने, “हाय ! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो ? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो ? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो ।8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र ?9 कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍नेछन् । तिनीहरूले हामीलाई घेर्नेछन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउनेछन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्‍छ ?10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्‍टो परेर लम्पसार परिरहन्‍छस् ?11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम् नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुनेछैनँ ।13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, ‘आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउनेछ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ ।15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्‍यसलाई चुनिनेछ, त्‍यसलाई र त्‍यससँग भएका सबै थोक जलाइनेछन्, किनभने त्‍यसले परमप्रभुको करार तोडेको छ र त्‍यसले इस्राएलमा अपमानजनक काम गरेको छ’ ।16 त्‍यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो ।17 यहोशूले यहूदाको सन्‍तानलाई नजिक ल्याए, र जेरहको सन्‍तानलाई चुनियो ।18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो ।19 त्‍यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्‍य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।20 आकानले जवाफ दिए, “साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्‍दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बीचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्‍यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो ।23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्‍यसलाई परमप्रभुको सामु खन्‍याए ।24 त्‍यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्‍डा, त्‍यसका छोराछोरीहरू, त्‍यसका गधाहरू, त्‍यसका गोरुहरू, त्‍यसका भेडाहरू, त्‍यसको पाल र त्‍यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए ।25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्‍ट ल्याइस् ? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुनेछ ।” सबै इस्राएलले ढुङ्‌गाले हाने । त्‍यसपछि बाँकी सबैलाई पनि ढुङ्‌गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए ।26 तिनीहरूले त्‍यसमाथि ढुङ्‌गाको ठूलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्‌यो । यसकारण, आजको दिनसम्म पनि त्‍यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।