5
यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्‍य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।2 त्‍यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “ढुङ्‌गाका कर्दहरू बना र इस्राएलका सबै पुरुषको फेरि एक पटक खतना गर् ।3 त्‍यसपछि यहोशू आफैले ढुङ्‌गाका कर्दहरू बनाए र तिनले इस्राएलका सबै पुरुषको गिबियथ-हाअरालोथमा खतना गरे ।4 यहोशूले तिनीहरूलाई खतना गर्ने कारण थियोः युद्ध गर्ने पुरुषहरूलगायत मिश्रबाट आएका सबै पुरुष मिश्रबाट आएपछि मरुभूमिको यात्रामा मरेका थिए ।5 तथापि मिश्रबाट आएका सबै पुरुषको खतना भएको थियो, र मिश्रबाट आउँदा मरुभूमिमा जन्‍मेका कुनै पनि पुरुषको खतना भएको थिएन ।6 मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाजको पालना गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्‍नथ्यो भनी शपथ खानुभएको थियो ।7 यहोशूले खतना गरेका मानिसहरू परमप्रभुले तिनीहरूका सट्टामा उठाउनुभएका तिनीहरूका छोराछोरीहरू थिए, किनभने तिनीहरूको त्‍यस किसिमले खतना भएको थिएन ।8 जब तिनीहरू सबैको खतना भयो, तिनीहरू निको नभएसम्म तिनीहरू त्‍यहीँ नै रहे ।9 त्‍यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मैले मिश्रको अपमान तिमीहरूबाट हटाएको छु ।” त्‍यसैले, त्‍यस ठाउँको नाउँ वर्तमानसम्म पनि गिलगाल राखिएको छ ।10 इस्राएलका मानिसहरूले गिलगालमा छाउनी हाले । तिनीहरूले त्‍यही महिनाको चौधौँ दिनको साँझ यरीहोको मैदानमा निस्तार-चाड मनाए ।11 निस्तार-चाडपछि त्‍यसै दिन तिनीहरूले त्‍यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए ।12 तिनीहरूले त्‍यस भूमिको उब्जनीबाट खाएपछि त्‍यही दिन मन्‍न रोकियो । इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन, तर तिनीहरूले त्‍यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए ।13 यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्‌गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्‍छ ?14 तिनले भने, “कुनै पक्षको होइन । किनभने म परमप्रभुको फौजको सेनापति हुँ । अहिले म आएको छु ।” अनि यहोशूले जमिनमा घोप्‍टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्‍छ ?15 परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ ।” यहोशूले त्‍यसै गरे ।