5
मोशाले सारा इस्राएलीलाई बोलाएर भने, “हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्न सक ।2 परमप्रभु हाम्रा परमेश्वरले होरेबमा हामीसित करार बाँध्नुभयो ।3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्नुभयो ।4 पर्वतमा परमप्रभु आगोको बीचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो ।5 त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बीचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्नुभयो,6 ‘तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।7 तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्नू ।8 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।9 तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्वसनीयता देखाउने छु ।11 परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।12 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्न याद राख्नू ।13 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ ।14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।15 तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्नू । त्यसकारण, शबाथ-दिन मान्न परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ ।16 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।17 हत्या नगर्नू ।18 व्यभिचार नगर्नू ।19 चोरी नगर्नू ।20 आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू ।21 आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।’22 परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बीचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरमा भन्नुभयो । उहाँले अरू कुनै पनि वचन थप्नुभएन । उहाँले दुई वटा शिला-पाटीमा ती लेख्नुभयो र मलाई दिनुभयो ।23 पर्वत जलिरहँदा अन्धकारको बीचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ ।24 तिमीहरूले भन्यौ, ‘हेर, परमप्रभु हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र उहाँको महान्ता देखाउनुभएको छ, र आगोको बीचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ ।25 तर हामी किन मर्ने ? किनकि यो महाअग्निले हामीलाई भस्म पार्नेछ । हामीले परमप्रभु हाम्रा परमेश्वरको आवाज अझै सुन्यौँ भने हामी मर्नेछौँ ।26 किनकि आगोको बीचबाट जीवित परमेश्वरको वचन सुनेर पनि हामी जस्तै बाँच्ने कुनचाहिँ प्राणी होला ?27 जानुहोस् र परमप्रभु हाम्रा परमेश्वरले भन्नुहुने हरेक कुरो सुन्नुहोस् । परमप्रभु हाम्रा परमेश्वरले तपाईंलाई भन्नुहुने हरेक कुरो हामीलाई दोहोर्याउनुहोस् । हामी यसलाई सुन्नेछौँ र पालन गर्नेछौँ ।’28 तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्नुभयो । उहाँले मलाई भन्नुभयो, ‘यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए ।29 मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुने थियो ।30 गएर तिनीहरूलाई भन्, “तिमीहरूका पालहरूमा फर्क ।31 तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिनेछु जुन तैँले तिनीहरूलाई सिकाउनेछस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।’32 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर ।33 तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।”