4
“अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन । तिनको पालन गरी तिमीहरू जीवित होऊ र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा गएर त्‍यसलाई अधिकार गर ।2 मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्‍नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक ।3 बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्‍यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै बीचबाट नष्‍ट पारिदिनुभयो ।4 तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित टाँसिनेहरूमध्‍ये हरेक आज जीवित छ ।5 हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।6 त्‍यसकारण ती मान र पालन गर । किनकि जाति-जातिहरूको दृष्‍टिमा यो तिमीहरूको बुद्धि र समझशक्ति हुनेछ जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्‍नेछन्, ‘निश्यच नै, यो महान् जाति बुद्धिमानी र समझशक्ति भएको जाति रहेछ ।’7 किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्‍वर जति नजिक हुनुहुन्‍छ, त्‍यति अर्को कुन जातिको ईश्‍वर नजिक छ ?8 आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्था जस्‍तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ ?9 केवल ध्‍यान देओ र आ-आफूलाई होशियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका हृदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, ‘मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउनेछु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।’11 तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बीचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो ।12 आगोको बीचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्‍यौ तर त्‍यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्‍यौ ।13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दश आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुई वटा शिला-पाटीमा लेख्‍नुभयो ।14 तिमीहरूलाई विधिविधानहरू सिकाउन त्‍यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।15 त्‍यसैले तिमीहरूले आ-आफूलाई ध्‍यान देओ किनकि त्‍यस दिन होरेबमा परमप्रभु आगोको बीचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ ।16 कुनै पुरुष वा स्‍त्रीको स्वरूपमा वा खोपेर कुनै पनि प्रतिमा बनाएर वा17 पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्‌गी वा18 भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्‍ट नपार ।19 पूरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सूर्य, चन्‍द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पूजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ ।20 तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति ( जस्‍तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।21 तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । म यर्दनपारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्पत्तिको रूपमा तिमीहरूलाई दिनुहुने देशमा जान नपाउने गरी उहाँले शपथ खानुभयो ।22 बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउनेछैनँ । तर तिमीहरू त्‍यस असल देशमा गएर त्‍यसको अधिकार गर्नेछौ ।23 सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।24 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो र डाही परमेश्‍वर हुनुहुन्‍छ ।25 तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्‍माइसकेपछि तिमीहरू लामो समयसम्म त्‍यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्‍यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुनेछौ । त्‍यहाँ तिमीहरू लामो समयसम्म बाँच्‍नेछैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुनेछौ ।27 परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बीचमा तिमीहरूको सङ्ख्या थोरै हुनेछ ।28 त्‍यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्‌गाका अन्‍य देवताहरूको सेवा गर्नेछौ जसले न देख्छन् न सुन्‍छन् न खान्‍छन् न त सुँघ्छन् ।29 तर त्‍यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्नेछौ र तिमीहरूका सारा हृदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउनेछौ ।30 ती पछिल्ला दिनमा तिमीहरू सङ्‌कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍नेछौ ।31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्‍छ । उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन न त नष्‍ट गर्नुहुनेछ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुनेछ ।32 अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो ? तिमीहरू भन्‍दा अगि बितेका दिनहरू अर्थात् परमेश्‍वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।33 तिमीहरूले सुने जस्‍तै आगोको बीचबाट परमेश्‍वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ ?34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चर्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बीचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ ?35 तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक ।36 तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बीचबाट उहाँका वचन सुन्‍यौ ।37 उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्‍तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।38 उहाँले तिमीहरूकै सामु तिमीहरू भन्‍दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्‍तो आज उहाँले गर्नुभएको छ ।39 त्‍यसकारण आज यो जान र हृदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्‍छ र अरू कोही छैन ।40 आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।41 तब मोशाले यर्दनको पूर्वपट्टि तीन वटा सहर छाने42 ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्‍यहाँ भागेर जान सकोस् । यी सहरमध्‍ये कुनै एउटामा भागेर त्‍यसले आफ्नो ज्‍यान बचाउन सक्थ्यो ।43 यी सहरहरू यी नै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्‍तानहरूका लागि बाशानको गोलान ।44 मोशाले इस्राएलका मानिसहरूका सामु राखिदिएको व्यवस्था यही हो ।45 इस्राएलीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू, व्यवस्थाहरू र अन्‍य आज्ञाहरू यी नै हुन् ।46 तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।47 तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे ।48 यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वतसम्‍म (अर्थात् हेर्मोन पर्वत)49 र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भीरसम्म पर्थ्यो ।