32
रूबेन र गादका सन्तानहरूका गाईवस्तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्तुहरूको निम्ति असाध्यै राम्रो थियो ।2 त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पूजाहारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने,3 “हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।4 यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो र तिनीहरू गाईवस्तुहरूका निम्ति राम्रा ठाउँहरू छन् । हामी तपाईंका दासहरूका गाईवस्तुहरू धेरै छन् ।5 तिनीहरूले भने, “यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।6 मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, “के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने ?7 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने ? मैले कादेश-बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे ।8 तिनीहरू एश्कोलको बेँसीमा गए ।9 तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् ।10 परमप्रभुको क्रोध दन्कियो । उहाँले शपथ खानुभयो र भन्नुभयो,11 ‘मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बीस वर्ष भन्दा माथिका कसैले देख्ने छैनन्,12 किनभने यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् । कालेब र यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् ।’13 त्यसैले परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । उहाँको नजरमा दुष्टता गर्ने सबै पुस्ता विनाश नभएसम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यताउता भौतारिन लगाउनुभयो ।14 हेर, तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध जगाउन खडा भएका छौ ।15 यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने, उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुनेछ र तिमीहरूले यी सबै मानिसलाई नष्ट पार्नेछौ ।16 त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, “यहाँ हाम्रा गाईवस्तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् ।17 तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्ने छन् ।18 इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकार नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ ।19 हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछैनौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ ।20 त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,21 परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र22 उहाँको सामु भूमिलाई कब्जा नगरेसम्म तिमीहरू सबै हातहतियारसहित परमप्रभुको सामु यर्दन पारि तर्नुपर्छ । त्यसपछि तिमीहरू फर्कन सक्छौ । तिमीहरू परमप्रभु र इस्राएलका सामु दोषरहित हुनेछौ । यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुनेछ ।23 तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुनेछौ । तिमीहरूका पापले अवश्य नै फेला पार्नेछ ।24 तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।25 गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, “तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्नेछन् ।26 हाम्रा बालबच्चाहरू, हाम्रा पत्नीहरू, हाम्रा गाईवस्तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहनेछन् ।27 तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जानेछन् ।28 त्यसैले मोशाले तिनीहरूको बारेमा पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जानेछन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।30 तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्त गर्नेछन् ।31 त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्नुभएबमोजिम हामीले यसै गर्नेछौँ ।32 हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहनेछ ।33 त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।34 गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर,35 अत्रोत-शोपान, याजेर, योगबहा,36 बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए ।37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम,38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे ।39 मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे ।40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे ।41 मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे ।42 नोबह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे ।