31
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्‍यसको निम्ति बदला ले । त्‍यो काम गरेपछि तँ मर्नेछस् र तेरा मानिसहरूसँग मिल्न जानेछस् ।3 त्‍यसैले मोशाले मानिसहरूलाई भने, “तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार ।4 तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बदला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।5 त्‍यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो ।6 त्‍यसपछि मोशाले तिनीहरूलाई पूजाहारी एलाजारका छोरा पीनहासको साथमा पवित्रस्थानका केही सरसामानहरू र सङ्‌केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए ।7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यनीहरूसँग लडे ।8 तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे ।9 इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।10 तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए ।11 तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लूटको माल र कैदीको रूपमा लिए ।12 तिनीहरूले कैदीहरूलाई, लूटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पूजाहारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए ।13 मोशा, पूजाहारी एलाजार र समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए ।14 तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए ।15 मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ?16 हेर, यी नै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।17 अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।18 तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।19 तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्‍नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ ।20 तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।21 पूजाहारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः22 सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा,23 र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुनेछ । त्‍यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्‍यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ ।24 तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुनेछौ । त्‍यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ ।25 त्‍यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,26 “मानिस र पशुहरू दुवै लूटका मालहरूको रूपमा गन्‍ती गर् । तँ, पूजाहारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लूटका मालहरूलाई27 ? दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबीच बाँड् ।28 त्‍यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू । यो कर मानिस, गाईवस्तु, गधा, भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ ।29 यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पूजाहारी एलाजारलाई दिनू ।30 साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।31 त्‍यसैले मोशा र पूजाहारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे ।32 सिपाहीहरूले लिएका लूटबाट बाँकी रहेका ६,७५,००० भेडा,33 सत्तरी हजार गोरु,34 एकसट्ठी हजार गधा,35 र पुरुषसँग कहिल्यै सहवास नगरेका बत्तीस हजार महिला थिए ।36 सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७,००० थियो ।37 भेडाहरूबाट परमप्रभुको भाग ६७५ थियो ।38 गोरुहरू छत्तीस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तर वटा थिए ।39 गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठी वटा थिए ।40 सोह्र हजार महिला थिए, जसबाट परमप्रभुको भाग बत्तीस जना थिए ।41 परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पूजाहारी एलाजारलाई दिए ।42 युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्‍दर्भमा43 समुदायको आधा भाग ३,३७,५०० भेडा,44 ३६,००० गोरुहरू,45 ३०,५०० गधा,46 र १६,००० महिला थिए ।47 इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।48 फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए ।49 तिनीहरूले तिनलाई भने, “तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्‍ती गरेका छन् र एक जना पनि हराएको छैन ।50 हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।51 मोशा र पूजाहारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे ।52 तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो ।53 हरेक सिपाहीले आ-आफ्नो निम्ति लूटका माल लिएका थिए ।54 मोशा र पूजाहारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।