28
परमप्रभुले मोशालाई भन्नुभयो,2 “इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, ‘तिमीहरूले मेरो निम्ति सुगन्धित बास्ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ ।’3 तैँले तिनीहरूलाई भन्नुपर्छ, ‘तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुई वटा ।4 तिमीहरूले एउटा थुमालाई बिहान चढाउनुपर्छ र अर्को थुमालाई साँझमा चढाउनुपर्छ ।5 तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठोलाई होमबलिको रूपमा चढाउनुपर्छ ।6 यो परमप्रभुलाई सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने नियमित होमबलि थियो, जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो । यसैसँगको अर्घबलि एउटा थुमाको निम्ति एक लिटर मद्य होस् ।7 तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्रस्थानमा खन्याउनुपर्छ ।8 तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्नबलिसँगै चढाउनुपर्छ ।9 शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुई वटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ ।10 यो नियमित होमबलि र यससँगको अन्नबलिको अतिरिक्त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ ।11 हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्नबलि चढाउनुपर्छ । तिमीहरूले दुई वटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सात वटा थुमा चढाउनुपर्छ ।12 तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पीठो अन्नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको रूपमा चढाउनुपर्छ ।13 तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पीठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ ।14 मानिसहरूका अर्घबलि साँढेको निम्ति दुई लिटर दाखमद्य, भेडाको निम्ति डेढ लिटर दाखमद्य, थुमाको निम्ति एक लिटर दाखमद्य हुनुपर्छ । यो वर्षभरि हरेक महिनाको निम्ति होमबलि हुनुपर्छ ।15 एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ । यो नियमित होमबलि र अर्घबलिको अतिरिक्त हुनेछ ।16 पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड आउँछ ।17 यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ ।18 पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नु हुँदैन ।19 तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुई वटा साँढे, एउटा भेडा र एक वर्षे सात वटा थुमा चढाउनुपर्छ ।20 साँढेसँगै तिमीहरूले अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पीठो र भेडासँग एक पाथी चढाउनुपर्छ ।21 सात वटा हरेक थुमासँग तेलमा मुछेको आधा पाथी मसिनो पीठो चढाउनुपर्छ,22 र आफ्नो प्रायश्चितको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।23 तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्त चढाउनुपर्छ ।24 यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्त चढाउनुपर्छ ।25 तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नु हुँदैन ।26 अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नु हुँदैन ।27 परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुहुँदैन । तिमीहरूले दुई वटा साँढे, एउटा भेडा र सात वटा एक वर्षे थुमा चढाउनुपर्छ ।28 तिनीहरूसँगै अन्नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पीठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पीठो चढाउनू ।29 हरेक सात वटा थुमाका निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पीठो,30 र आफ्नो निम्ति प्रायश्चितको निम्ति एउटा बोका चढाउनू ।31 जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्नबलिको अतिरिक्त हुनुपर्छ’ ।”