27
योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यी नै थिएः महला, नोआह, होग्ला, मिल्का र तिर्सा ।2 तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पूजाहारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए ।3 तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।4 तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बीचबाट किन निर्मूल गर्ने ? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्गा दिनुहोस् ।”5 त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।6 परमप्रभुले मोशालाई भन्नुभयो,7 “सलोफादका छोरीहरूले ठीकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्चय गर्नुपर्छ ।8 तैँले इस्राएलका मानिसहरूलाई भन्, ‘यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।9 यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।10 यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।11 यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबै भन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुनेछ’ ।12 परमप्रभुले मोशालाई भन्नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।13 तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारून जस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।14 तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुनेछ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रीसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।15 त्यसपछि मोशाले परमप्रभुलाई भने,16 “हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्वर, समुदायमाथि एक जना मानिस नियुक्त गर्नुहोस्,17 एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोबिनाका भेडाहरूजस्ता नहोऊन् ।18 परमप्रभुले मोशालाई भन्नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।19 त्यसलाई पूजाहारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।20 तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञापालन गरून् ।21 त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पूजाहारी एलाजारको सामु जानेछ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जानेछन् र भित्र आउनेछन् ।22 त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पूजाहारी एलाजार र सारा समुदायको सामु राखे ।23 तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।