9
तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून् ।3 यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्‍नू । तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ ।4 यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार-चाडलाई मान्‍नुपर्छ भनी तिनीहरूलाई बताए ।5 तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे ।6 मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्‍यस दिन निस्तार-चाड मान्‍न सकेनन् । तिनीहरू त्‍यसै दिन मोशा र हारूनकहाँ गए ।7 ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्‍छ ?8 मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्‍नुहुन्‍छ, म सुन्‍छु ।9 परमप्रभुले मोशालाई भन्‍नुभयो,10 “इस्राएलका मानिसहरूलाई भन्, ‘यदि तिमीहरूमध्‍ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्‍यसले परमप्रभुको निस्तार-चाड अझै मान्‍न सक्छ ।’11 तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार-चाड मान्‍नेछन् । तिनीहरूले निस्तार-चाडको थुमालाई अखमिरी रोटी र तीतो सागसँग खानुपर्छ ।12 तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ ।13 तर कुनै व्यक्ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्‍दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्‍यसले बलिदान नचढाएकोले त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । त्‍यस मानिसले आफ्नो पाप भोग्‍नुपर्छ ।14 यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्‍छ भने, त्‍यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ । विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ ।15 पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगो जस्‍तो देखियो ।16 यो यसरी नै रहिरह्यो । बादलले पवित्र वासस्थान ढाक्यो र राती आगो जस्‍तो देखा पर्थ्यो ।17 जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्‍थ्यो, त्‍यहाँ मानिसहरूले छाउनी लगाउँथे ।18 इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे ।19 बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्‍थे, तिनीहरू छाउनीमा बस्थे । बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञापालन गर्थे र यात्रा गर्दैनथे ।20 कहिलेकाहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्‍थ्यो । त्‍यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञापालन गर्थे । तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे ।21 कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्‍थ्यो । बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे । यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे ।22 बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्‍थे र यात्रा गर्दैनथे । तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे ।23 तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे ।