8
परमप्रभुले मोशालाई भन्नुभयो,2 “हारूनलाई भन्, ‘तैँले सात वटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ’ ।3 हारूनले यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले ।4 सामदान यस किसिमले बनाइएको थियो र परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो । यो आधारदेखि टुप्पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो ।5 फेरि परमप्रभुले मोशालाई भन्नुभयो,6 “लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् ।7 तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्चितको पानी छर्किदे । तिनीहरूको पूरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् ।8 त्यसपछि तिनीहरूलाई एउटा बाछो र तेलले मुछेको मसिनो पीठोको अन्नबलि ल्याउन लगा । तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन् ।9 तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् ।10 तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्नुपर्छ ।11 हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।12 लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्नुपर्छ ।13 तैँले लेवीहरूका प्रायश्चितको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।14 तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।15 त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ ।16 यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु ।17 इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ ।18 मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु ।19 मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्रस्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् ।20 मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे ।21 लेवीहरूले आफैलाई शुद्ध पारे र आ-आफ्ना लुगाहरू धोए, अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए र तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्चित गरे ।22 त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।23 परमप्रभुले मोशालाई भन्नुभयो,24 “यो सबै पच्चीस वर्ष र त्यस भन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ ।25 तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नु हुँदैन ।26 तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नु हुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”