6
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूलाई भन्, ‘जब कुनै पुरुष वा महिलाले आफूलाई परमप्रभुको निम्ति नाजिरीको विशेष भाकलले अलग गर्छ,3 त्‍यसले आफूलाई दाखमद्य र कडा मद्यबाट अलग राख्‍नुपर्छ । त्‍यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन । त्‍यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन ।4 त्‍यसले आफूलाई मेरो निम्ति अलग गरेका सबै दिनमा त्‍यसले दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत दाखबाट बनाइएका कुनै पनि कुरा खानु हुँदैन ।5 अलग हुने त्‍यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्‍यसको भाकल पूरा नभएसम्म त्‍यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नु हुँदैन । त्‍यो परमप्रभुको निम्ति अलग हुनुपर्छ । त्‍यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ ।6 त्‍यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पूरै समयभरि त्‍यो मुर्दाको नजिक आउनुहुँदैन ।7 आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्‍यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्‍यसको कपाल देख्‍न सक्‍ने जस्‍तै यो त्‍यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो ।8 त्‍यो अलग रहेको पूरै समयभरि त्‍यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्‍छ ।9 यदि कोही त्‍यसको सामु अचानक मर्छ र त्‍यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्‍यसपछि त्‍यसले शुद्धीकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्‍यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ ।10 त्‍यसले आठौँ दिनमा दुई वटा परेवा वा दुई वटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पूजाहारीकहाँ ल्याउनुपर्छ ।11 पूजाहारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्‍यसको पापको प्रायश्‍चित गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्‍यसले पाप गर्‍यो । त्‍यसले त्‍यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ ।12 त्‍यसले आफ्नो शुद्धीकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ । त्‍यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ । त्‍यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्‍नुहुँदैन, किनभने त्‍यसले अशुद्ध पार्‍यो ।13 नाजिरीको अलग हुने समय पूरा हुनेको निम्ति नाजिरीको नियम यही हो । त्‍यसलाई भेट हुने पालको प्रवेश-द्वारमा ल्याउनुपर्छ ।14 त्‍यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्‍यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्‍यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्‍यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ ।15 त्‍यसले तिनीहरूका अन्‍नबलि र अर्घबलिसँगै एक डालो अखमिरी रोटी, तेलले मिसाएको फुरौलाहरू, तेल दलेको अखमिरी बाबरहरू ल्याउनुपर्छ ।16 पूजाहारीले तिनीहरूलाई परमप्रभुको सामु चढाउनुपर्छ । त्‍यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।17 अखमिरी रोटीको डालोसँगै त्‍यसले थुमालाई बलि अर्थात् मेलबलिको रूपमा चढाउनुपर्छ । पूजाहारीले अन्‍नबलि र अर्घबलि पनि चढाउनुपर्छ ।18 नाजिरीले आफू अलग रहेको सङ्‌केत गर्न भेट हुने पालको प्रवेश-द्वारमा आफ्नो शिर खौरनुपर्छ । त्‍यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ ।19 पूजाहारीले थुमाको उमालेको कुम, अखमिरी रोटीको डालोबाट एउटा रोटी र अखमिरी बाबर लिनुपर्छ । त्‍यसले तिनीहरूलाई आफू अलग रेहेको सङ्‌केत गर्ने कपाल खौरेको नाजिरीका हातमा राख्‍नुपर्छ ।20 पूजाहारीले तिनीहरूलाई डोलाइएको ह्याकुलो र पूजाहारीलाई दिइएको साप्रोसँगै पूजाहारीको निम्ति पवित्र हिस्सा परमप्रभुको सामु बलिको रूपमा डोलाउनुपर्छ । त्‍यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ ।21 नाजिरीको निम्ति नियम यही हो जसले आफू अलग हुनको निम्ति परमप्रभुको निम्ति आफ्नो बलिदानको भाकल गर्छ । त्‍यसले अरू जे दिन पनि, त्‍यसले भाकल गरेका कर्तव्यहरू अर्थात् नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ’ ।22 फेरि परमप्रभुले मोशालाई बोल्नुभयो,23 “हारून र त्‍यसका छोराहरूलाई भन्, ‘तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ । तिमीहरूले तिनीहरूलाई यसो भन्‍नुपर्छ,24 “परमप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।25 परमप्रभुले उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस् र तिमीहरूप्रति कृपालु हुनुभएको होस् ।26 परमप्रभुले तिमीहरूमाथि कृपादृष्‍टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्‍ति दिनुभएको होस्” ।’27 तिनीहरूले इस्राएलका मानिसहरूलाई मेरो नाउँ यसरी दिनुपर्छ । अनि म तिनीहरूलाई आशिष् दिनेछु ।”