9
आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।2 उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।3 इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्‍खोट बाछो र भेडाको बच्‍चा लिनू,4 र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्‍नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुनेछ’ ।5 यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।6 अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।7 मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित गर, र मानिसहरूका निम्ति प्रायश्‍चितस्वरूप बलिदानलाई अर्पण गर ।8 यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।9 हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सीङहरूमा लगाए, र त्‍यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्‍याए ।10 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।11 मासु र छाला भने छाउनी भन्‍दा बाहिर जलाइयोस् ।12 हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्‍यो रगतलाई वेदीको सबैतिर छर्के ।13 तिनीहरूले होमबलिलाई टुक्राटुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।14 तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।15 हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्‍यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे ।16 परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।17 तिनले अन्‍नबलि अर्पण गरेपछि त्‍यसबाट एक मुट्ठी लिए अनि त्‍यही बिहानीको होमबलिसँगै त्‍यसलाई वेदीमा जलाए ।18 तिनले त्‍यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्‍यो वेदीको सबैतिर छर्के ।19 तर तिनीहरूले त्‍यस साँढे र भेडाको बोसो, बोसे-पुच्‍छर, भित्री भागहरूलाई ढाक्‍ने बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई काटी निकाले ।20 आफूले काटेर निकालेका भागलाई लिएर तिनीहरूले छातीमा राखे, अनि हारूनले बोसोलाई वेदीमा जलाए ।21 मोशाले आज्ञा गरेझैँ हारूनले छाती र दाहिने फिलालाई परमप्रभुको अगि डोलाइने बलिझैँ डोलाए ।22 त्‍यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।23 मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।24 परमप्रभुबाट आगो बाहिर निस्‍कियो र वेदीको होमबलि र बोसोलाई भस्‍म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्‍च स्‍वरमा कराए र आफ्नो शिर निहुराए ।