8
परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,2 “हारून र त्‍यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुई वटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।3 भेट हुने पालको प्रवेशद्वारमा सबै समुदायलाई भेला गर्नू ।4 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे, र सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए ।5 अनि मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनेर आज्ञा गर्नुभएको यही नै हो ।6 मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए ।7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।8 उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए ।9 उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्‍यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।10 मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्‍यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे ।11 उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्‍यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्‍यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।12 उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्‍याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।13 मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।14 मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्‍यस पापबलिको साँढेको टाउकोमाथि राखे ।15 उनले त्‍यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सीङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्‍याए, र त्‍यसको निम्ति प्रायश्‍चित गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।16 मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए ।17 तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्‍यो साँढे, त्‍यसको छाला, त्‍यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए ।18 मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्‍यस भेडाको शिरमा राखे ।19 उनले त्‍यो मारे र त्‍यसको रगतलाई वेदीको सबैतिर छर्के ।20 उनले त्‍यस भेडालाई टुक्राटुक्रा गरी काटे र त्‍यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए ।21 उनले त्‍यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पूरै भेडालाई वेदीमा जलाए । त्‍यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्‍यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मीठो सुगन्ध दियो ।22 अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्‍यस भेडाको शिरमा राखे ।23 हारूनले त्‍यो मारे, र मोशाले त्‍यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बूढी औँला, र दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए ।24 उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बूढी औँला र दाहिने खुट्टाको बूढी औँलामा केही रगत लगाइदिए । त्‍यसपछि मोशाले त्‍यसको रगत वेदीको सबैतिर छर्के ।25 उनले बोसो, बोसे-पुच्‍छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्‍यसको बोसो, र दाहिने फिला लिए ।26 परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट उनले एउटा अखमिरी रोटी, एउटा तेल मिसाइएको रोटी र एउटा पापड लिएर बोसो र दाहिने फिलामा राखे ।27 उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए ।28 त्‍यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मीठो सुगन्ध दिने अभिषेकको बलि यही थियो ।29 मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पूजाहारी-अर्पणको भेडा मोशाकै भाग थियो ।30 मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।31 यसैकारण मोशाले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू, र मैले ‘हारून र तिनका छोराहरूले खाऊन्’ भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्‍यसलाई त्‍यहीँ खाओ ।32 मासु र रोटीबाट जे बाँकी हुन्‍छ त्‍यसलाई जलाउनू ।33 तिमीहरूको अर्पणको काम पूरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वार भन्‍दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुनेछ ।34 आजको दिनमा जे गरियो, त्‍यो तिमीहरूको प्रायश्‍चितको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो ।35 तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।36 यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।