6
परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,2 “यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्‍यसले अत्‍याचार गर्दछ भने,3 वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्‍यसले पाएर त्‍यसबारे झूटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरू जस्‍तो कुनै गर्दछ भने,4 र यदि त्‍यसले पाप गरेको छ र त्‍यो दोषी ठहरियो भने, त्‍यसले चोरी गरेर वा अत्‍याचार गरेर लिएको, वा त्‍यसको जिम्मामा भएको, वा हराएर त्‍यसले पाएको सबै फिर्ता गरोस् ।5 साथै, त्‍यसले कुनै विषयमा झूटो किरिया हालेको भए, त्‍यो दोषी ठहरिएको दिनमा त्‍यसले त्‍यो पूर्ण रूपमा फिर्ता गरोस्, र त्‍यसको मूल्यको पाँचौँ भाग थपेर त्‍यसको मालिकलाई दिओस् ।6 त्‍यसपछि त्‍यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पूजाहारीलाई दिओस् ।7 पूजाहारीले परमप्रभुको अगि त्‍यसको निम्ति प्रायश्‍चित गर्नेछ, र त्‍यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्‍यसलाई क्षमा हुनेछ ।8 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,9 “हारून र त्‍यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको छः होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।10 पूजाहारीले आफ्ना सूतीका पोशाकहरू र भित्री वस्‍त्रहरू पहिरिनेछ । होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि त्‍यसबाट निस्केको खरानी त्‍यसले लिनेछ, र त्‍यस खरानीलाई वेदीको छेउमा राख्‍नेछ ।11 त्‍यसले आफ्ना वस्‍त्रहरू फुकाल्‍नेछ र छाउनी भन्‍दा बाहिर शुद्ध स्थानमा खरानी लैजानको निम्ति अर्को वस्‍त्र पहिरिनेछ ।12 वेदीको आगोलाई भने बालिराख्‍नू । त्‍यो ननिभोस्, र पूजाहारीले हरेक बिहान त्‍यसमा दाउरा बालोस् । त्‍यसले आवश्‍यक भएअनुसार त्‍यसमा होमबलिलाई मिलाएर राख्‍नेछ, र मेलबलिको बोसोलाई त्‍यसमा जलाउनेछ ।13 वेदीमा आगो निरन्‍तर बालिराख्‍नू । त्‍यो ननिभोस् ।14 अन्‍नबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि वेदीको सामु हारूनका छोराहरूले त्‍यो अर्पण गरून् ।15 अन्‍नबलिको पीठो, तेल र धूपबाट पूजाहारीले एक मुट्ठी चिन्हको रूपमा लिएर मीठो सुगन्ध दिनको निम्ति वेदीमा जलाउने छ ।16 हारून र उसका छोराहरूले त्‍यस भेटीबाट बाँकी रहेका सबै खाऊन् । त्‍यो सबै खमिर नराखीकन कुनै एउटा पवित्र स्थानमा खाइनुपर्छ । तिनीहरूले त्‍यो भेट हुने पालको चोकमा खाऊन् ।17 त्‍यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्‍यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।18 तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्‍यो खान सक्‍नेछ । जसले ती छुन्‍छ त्‍यो पवित्र हुनेछ’ ।19 यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,20 “हारून र त्‍यसका छोराहरूले हरेक छोराको अभिषेक गर्ने दिनमा परमप्रभुलाई अर्पण गर्ने बलि यस प्रकार रहेको छः नियमित अन्‍नबलिझैँ आधा पाथी मसिनो पीठो, आधाचाहिँ बिहान र आधा साँझ ।21 त्‍यसलाई पकाउने भाँडामा तेलसँग मिसाएर बनाइयोस् । त्‍यो भिजेपछि भित्र ल्याउनू । त्‍यो पाकेपछि अन्‍नबलिलाई टुक्रा गरी परमप्रभुको निम्ति मीठो सुगन्ध दिनको निम्ति अर्पण गरियोस् ।22 प्रधान पूजाहारीका छोराहरूमध्‍ये हुनेवाला प्रधान पूजाहारीले त्‍यो अर्पण गरोस् । सधैँ आज्ञा गरिएझैँ ती सबै परमप्रभुको निम्ति जलाइयोस् ।23 पूजाहारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्‍यो खानुहुँदैन ।24 परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,25 “हारून र त्‍यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मारिन्‍छ पापबलिलाई पनि त्‍यहीँ मार्नू । यो अति पवित्र हो ।26 पापको निम्ति अर्पण गर्ने पूजाहारीले नै त्‍यो खाओस् । भेट हुने पालको चोकको कुनै एउटा पवित्र स्थानमा त्‍यो खाइनुपर्छ ।27 त्‍यसको मासु छुने सबै कुरा पवित्र हुनेछ, र यदि कुनै वस्‍त्रमा रगतको छिट्का लागेको भए त्‍यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।28 तर त्‍यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्‍यो काँसाको भाँडामा उमालिएको भए, त्‍यसलाई माँझेर सफा पानीले धुनू ।29 पूजाहारीहरूमध्‍ये जुनसुकै पुरुषले त्‍यसबाट खान सक्छ किनभने त्‍यो अति पवित्र हो ।30 तर पवित्र स्थानमा प्रायश्‍चित गर्नको निम्ति भेट हुने पालभित्र ल्याइएको कुनै पनि पापबलिको रगत भने नखानू । त्‍यो जलाइनुपर्छ’ ।”