5
“ ‘यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुनेछ ।2 वा परमेश्वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुनेछ ।3 वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुनेछ ।4 वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुनेछ ।5 यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ ।6 त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ ।7 यदि त्यससँग पाठी किन्ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुई वटा ढुकुर वा दुई वटा परेवाका बच्चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ।8 त्यसले त्यो पूजाहारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्नेछ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् ।9 त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो ।10 त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ, र त्यस मानिसलाई क्षमा हुनेछ ।11 तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्चा किन्ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पीठोको पापबलि ल्याओस् । त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस् ।12 त्यसले त्यो पूजाहारीकहाँ ल्याओस्, र पूजाहारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।13 त्यस मानिसले गरेका सबै पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ, र त्यस मानिसलाई क्षमा हुनेछ । अन्नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पूजाहारीको हुनेछ’ ।14 अनि परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,15 “यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ ।16 जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पूजाहारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पूजाहारीले त्यस मानिसको निम्ति प्रायश्चित गर्नेछ, र त्यसलाई क्षमा हुनेछ ।17 परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुनेछ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्नुपर्छ ।18 त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्खोट भेडा पूजाहारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ, र त्यसलाई क्षमा हुनेछ ।19 यो दोषबलि हो, र त्यो निश्चय नै परमप्रभुको अगि दोषी छ ।”