31
तब परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु ।3 सबै किसिमका कारीगरीको काम गर्नका लागि त्‍यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु ।4 त्‍यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ ।5 सबै किसिमका कारीगरीका काम गर्न त्‍यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ ।6 त्‍योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका हृदयमा मैले सीप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यी नै हुन्ः7 भेट हुने पाल, गवाहीको सन्‍दूक, सन्‍दूकमाथि राखिने प्रायश्‍चितको ढकनी, पालका सबै सरसामान अर्थात्8 टेबिल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,9 होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठूलो बाटा ।10 यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पूजाहारी र त्‍यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पूजाहारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।11 पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो,13 “इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले निश्‍चय नै परमप्रभुको शबाथ-दिन मान्‍नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो तिमीहरू र मेरो बीचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।14 त्‍यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्‍यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।15 छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ ।16 त्‍यसकारण, इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ ।17 शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बीचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो’ ।18 सीनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुई वटा शिला-पाटी दिनुभयो ।