11
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्‍यसपछि त्‍यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्‍त्‍यमा त्‍यसले तिमीहरूलाई जान दिँदा त्‍यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ ।2 हरेक पुरुष र स्‍त्रीले तिनीहरूका छिमेकीहरूबाट चाँदी र सरसामानहरू माग्‍न तिनीहरूलाई निर्देशन दे ।3 अब परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक बनाइदिनुभयो । यसको अतिरिक्त, यी मानिस मोशा फारोका अधिकारीहरू र मिश्रका मानिसहरूका दृष्‍टिमा प्रभावशाली बने ।4 मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छः मध्‍यराततिर म मिश्र भएर जानेछु ।5 मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर जाँतो पिँध्‍ने दासीको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्‍मेकाहरू मर्नेछन् ।6 त्‍यसपछि मिश्र देशमा पहिले कहिल्यै नसुनिएको र फेरि पछि कहिल्यै नसुनिने ठूलो रुवाबासी हुनेछ ।7 तर इस्राएलका मानिस र पशुको विरुद्धमा भने एउटा कुकुर पनि भुक्‍नेछैन । यसरी मैले मिश्रीहरू र इस्राएलीहरूलाई फरक तरिकाले व्यवहार गर्दै छु भनी तैँले जान्‍नेछस् ।8 फारोका सबै अधिकारीहरू मकहाँ आई मेरो सामु निहुरिनेछन् । तिनीहरूले भन्‍नेछन्, ‘तपाईंको पछि लाग्‍ने सबै मानिस जाऊन् ।’ त्‍यसपछि म जानेछु ।” तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए ।9 परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोले तेरो कुरा सुन्‍नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।10 मोशा र हारूनले फारोको सामु यी सबै अचम्मका काम गरे । तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो र तिनले आफ्नो देशबाट इस्राएलका मानिसहरूलाई जान दिएनन् ।