10
परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका हृदय कठोर बनाइदिएको छु । तिनीहरूका बीचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।2 मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बीचमा मेरो शक्तिका विभिन्न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्नेछस् ।3 त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस् ? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।4 तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु ।5 कसैले जमिनलाई देख्न नसक्ने गरी तिनीहरूले भुइँलाई ढाक्नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चीज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रूखलाई पनि तिनीहरूले खाइदिनेछन् ।6 तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्’ ।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।7 फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने ? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्ट भएको के हजुरले देख्नुभएको छैन र ?8 मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन् ?9 मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।10 फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्टता छ ।11 तिमीहरूमा बीचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।12 तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।13 मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।14 सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हूल-हूल भएर बसे । त्यस देशमा सलहहरूको यस्तो हूल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन ।15 पूरै अन्धकार हुने गरी तिनीहरूले पूरै देशको सतहलाई ढाके । असिनाले नष्ट गरेर छाडेका रूखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रूख-बिरुवा बाँकी रह्यो ।16 त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्न पठाए र भने, “मैले तिमीहरूका परमेश्वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।17 अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्वरसित बिन्ती चढाइदेओ ।18 त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।19 परमप्रभुले निकै शक्तिशाली पश्चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।20 तर परमप्रभुले फारोको हृदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।21 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।22 मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तीन दिनसम्म निस्पट्ट अन्धकार छायो ।23 कसैले कसैलाई देख्न सक्दैनथ्यो । तीन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।24 फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।25 तर मोशाले भने, “हाम्रा परमप्रभु परमेश्वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान र होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ ।26 हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ । तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ । किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन ।27 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।28 फारोले मोशालाई भने, “मबाट जाऊ ! एउटा कुराको बारेमा होशियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।29 मोशाले भने, “तपाईंले भन्नुभएझैँ होस् । म फेरि तपाईंको अनुहार हेर्नेछैनँ ।”