44
योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए, “ती मानिसहरूले लैजान सक्‍नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ, र हरेकको बोराको मुखमा हरेकको रुपियाँ-पैसा पनि हालिदेऊ ।2 कान्‍छोको बोराको मुखमा मेरो चाँदीको कचौरा र तिनले अनाजको लागि ल्याएको रुपियाँ-पैसा पनि हालिदेऊ ।” भण्डारेले योसेफले भनेझैँ गर्‍यो ।3 बिहान भएपछि ती मानिसहरू आ-आफ्ना गधाहरूसँगै पठाइए ।4 तिनीहरू सहरबाट केही पर पुग्दा योसेफले आफ्नो भण्डारेलाई भने, “उठ,र ती मानिसहरूको पिछा गर । तिनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू, ‘किन तिमीहरूले भलाइको सट्टा खराबी गर्‍यौ ?5 के यो त्‍यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्‍छ र शकून-अपशकूनको लागि प्रयोग गर्नुहुन्‍छ ? तपाईंहरूले जे गर्नुभएको छ त्‍यो खराब छ’ ।6 भण्डारेले तिनीहरूलाई भेट्टायो, र तिनहरूलाई ती वचनहरू भन्‍यो ।7 तिनीहरूले त्‍यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्‍छ ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।8 हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा त हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ । तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ ?9 तपाईंको कुनै पनि दाससित त्‍यो कचौरा फेला पारियो भने त्‍यो मारियोस्, र हामी आफै पनि तपाईंका दास हुनेछौँ ।10 भण्डारेले भन्‍यो, “अब तपाईंहरूकै वचनअनुसार नै होस् । जससित त्‍यो कचौरा पाइन्‍छ, त्‍यो मेरो दास बनोस्, र अरूहरू निर्दोष हुनेछन् ।11 त्‍यसपछि हरेक मानिसले हतार-हतारमा आ-आफ्नो बोरा भुइँमा झारी तिनीहरूले आ-आफ्ना बोरा खोल्यो ।12 भण्डारेले खोजी गर्‍यो । त्‍यसले जेठोबाट सुरु गरेर कान्‍छोमा टुङ्‌ग्यायो, अनि त्‍यो कचौरा बेन्‍यामीनको बोरामा फेला पारियो ।13 त्‍यसपछि तिनीहरूले आफ्ना लुगा च्‍याते । हरेकले आ-आफ्नो गधा लादेर तिनीहरू सहर फर्के ।14 यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्के । तिनी अझै पनि त्‍यहीँ नै थिए र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।15 योसेफले तिनीहरूलाई भने, “तिमीहरूले यो के गरेको ? म जस्‍तो मानिसले शकून-अपशकून गर्छ भनी के तिमीहरूलाई थाहा छैन ?16 यहूदाले भने, “मेरा मालिकलाई हामी के भनौँ ? हामी के बोलौँ ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ ? परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ । हेर्नुहोस्, हामी मेरा मालिकहरूका दास हुन्‍छौँ – हामी र त्‍यो व्यक्ति जसको हातमा त्‍यो कचौरा फेला पर्‍यो ।17 योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन । त्‍यो मानिस जसको हातमा कचौरा फेरा पारियो, त्‍यो मात्रै मेरो दास हुनेछ । तर तिमीहरूचाहिँ शान्‍तिसित आफ्ना पिताकहाँ जाओ ।18 त्‍यसपछि यहूदा योसेफको नजिक आएर भने, “मेरा मालिक, बिन्‍ती छ, कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्‍छ ।19 मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो, ‘के तिमीहरूका पिता वा भाइ छ ?’20 हामीले हजुरलाई भन्‍यौँ, ‘हाम्रा वृद्ध पिता हुनुहुन्‍छ, र उहाँले बुढेसकालमा जन्‍माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्‍छ ।’21 त्‍यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, ‘तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।’22 त्‍यसपछि हामीले हजुरलाई भन्‍यौँ, ‘ठिटोले आफ्ना पितालाई छाड्न सक्दैनन् । किनकि तिनले आफ्ना पितालाई छाड्नुपर्‍यो भने तिनका पिता मर्नेछन् ।’23 तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, तिमीहरूको कान्‍छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।’24 त्‍यसपछि हामी तपाईंका दास मेरा पिताकहाँ जाँदा हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ ।25 हाम्रा पिताले भन्‍नुभयो, ‘फेरि गएर हाम्रा लागि अनाज किन ।’26 त्‍यसपछि हामीले भन्‍यौँ, ‘हामी तल जान सक्दैनौँ । हाम्रो कान्‍छो भाइ हामीसित गयो भने मात्र हामी तल जान सक्छौँ किनकि कान्‍छो भाइ हामीसित नगएसम्म हामीले ती मानिसको अनुहार हेर्न सक्दैनौँ ।’27 तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, ‘मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्‍माएकी कुरा त तिमीहरूलाई थाहै छ ।28 एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, ‘निश्‍चय नै, त्‍यसलाई धुजाधुजा पारिएको छ, र त्‍यस बेलादेखि मैले त्‍यसलाई देखेको छैनँ ।29 अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।’30 त्‍यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले31 उहाँले मेरो साथमा ती ठिटालाई नदेख्‍नुहुँदा उहाँ मर्नुहुनेछ । तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन् ।32 किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, ‘मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।’33 त्‍यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।34 किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र ? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।”