43
देशमा अति भयानक अनिकाल परेको थियो ।2 तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्‍न किन्‍नलाई जाओ ।3 यहूदाले भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक चेताउनी दिएका छन्, ‘तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ ।’4 तपाईंले हाम्रा भाइलाई हामिसितै पठाउनुभयो भने हामी तल झरेर तपाईंका लागि अन्‍न किन्‍नेछौँ ।5 तर तपाईंले तिनलाई पठाउनुभएन भने हामी तल जाँदैनौँ । किनभने ती मानिसले हामीलाई भनेका छन् ‘तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ’ ।6 इस्राएलले भने, “तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्‌कष्‍ट ल्यायौ ?7 तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, ‘के तपाईंका पिता अझै जीवितै हुनुहुन्‍छ ? के तिमीहरूको अर्को भाइ छ ?’ हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ । तिनले ‘तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ’ भन्‍छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र ?8 यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्‍न सकून् भनी हामी उठेर गइहाल्नेछौँ ।9 म तिनको जमानी हुनेछु । तपाईंले मसित लेखा लिनुहुनेछ । मैले तिनलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु ल्याइनँ भने म सदाको लागि त्‍यसको दोषी हुनेछु ।10 किनकि हामीले ढिला नगरेका भए निश्‍चय नै अहिलेसम्म त हामी दोस्रो पटक यहाँ फर्किसकेका हुने थियौँ ।11 तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्‍यसो हो भने, अब यसो गर । तिमीहरूका झोलाहरूमा यस देशमा सबै भन्‍दा उत्तम उब्जनीहरू हाल । ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम ।12 तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ । तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ । शायद त्‍यो भूल थियो ।13 तिमीहरूका भाइलाई पनि सँगै लैजाओ । उठेर फेरि ती मानिसकहाँ जाओ ।14 सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन् ताकि तिनले तिमीहरूका अर्का दाजु र बेन्‍यामीनलाई छुटकारा दिऊन् । मेरा सन्‍तानहरूको कारणले म शोकित हुनैपर्छ भने म हुँला ।15 ती मानिसहरूले उपहार, दुई गुणा रुपियाँ-पैसा र बेन्‍यामीनलाई लिए, र तिनीहरू उठेर मिश्रतर्फ झरे, अनि योसेफको सामु हाजिर भए ।16 योसेफले तिनीहरूसँगै बेन्‍यामीनलाई देखेपछि तिनले आफ्नो घरको भण्डारेलाई भने, “ती मानिसहरूलाई घरभित्र ल्याओ, र एउटा पशु काटेर भोज तयार पार किनकि दिउँसो यी मानिसहरूले मसँगै खानेछन् ।17 त्‍यस भण्डारले योसेफले भने जस्‍तो गर्‍यो । त्‍यसले ती मानिसहरूलाई योसेफको घरभित्र ल्यायो ।18 ती मानिसहरू योसेफको घरमा लगिएकाले तिनीहरू डराए । तिनीहरूले भने, “पहिलो पटक हाम्रा बोराहरूमा फर्काइएको रुपियाँ-पैसाको कारण हामीलाई यहाँ ल्याइएको हो । तिनले हाम्रो विरुद्धमा मौका खोजेका हुन सक्छन् । तिनले हामीलाई गिरफ्तार गरी दास बनाउन सक्छन्, हाम्रा गधाहरू लैजान सक्छन् ।19 तिनीहरू योसेफको घरको भण्डारेकहाँ गए, र घरको ढोकामा तिनीहरूले उसलाई भने,20 “हजुर, हामी पहिलो पटक अन्‍न किन्‍न आयौँ ।21 हामी विश्राम स्थलमा पुग्यौँ, अनि बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्‍यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए । हामीले ती हामीसँगै ल्याएका छौँ । अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ ।22 हाम्रा रुपियाँ-पैसा हाम्रा बोराहरूमा कसले राखिदियो भनी हामीलाई थाहा छैन ।23 भण्डारेले भन्‍यो, “तपाईंहरूलाई शान्‍ति होस् । नडराउनुहोस् । तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वरले नै तपाईंका बोराहरूमा तपाईंहरूको रुपियाँ-पैसा हालिदिएको हुनुपर्छ । मैले तपाईंहरूको रुपियाँ-पैसा त पाएकै थिएँ ।” त्‍यसपछि भण्डारेले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो ।24 भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्‍यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्‍यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।25 तिनीहरूले दिउँसो योसेफको आगमनको लागि उपहारहरू तयार पारिराखे, किनकि तिनीहरूले त्‍यहाँ सँगसँगै खाने थिए भनी तिनीहरूले सुनेका थिए ।26 योसेफ घरमा आउँदा तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू घरभित्र ल्याए, र भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।27 तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे, “तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्‍चै हुनुहुन्‍छ ? के तिनी अझै जीवितै छन् ?28 तिनीहरूले भने, “तपाईंका दास हाम्रा पिता सञ्‍चै हुनुहुन्‍छ । उहाँ अझै जीवितै हुनुहुन्‍छ ।” तिनीहरू भुइँमा लमतन्‍न परेर तिनलाई ढोग गरे ।29 तिनले आफ्ना आँखा उठाउँदा तिनले आफ्नी आमाका छोरा आफ्ना भाइ बेन्‍यामीनलाई देखेपछि तिनले भने, “तिमीहरूले मलाई बताएको तिमीहरूका कान्‍छा भाइ यिनै हुन् ?” त्‍यसपछि तिनले भने, “मेरा छोरा, तिमीमाथि परमेश्‍वर अनुग्रही हुनुभएको होस् !30 योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए । तिनले रुने ठाउँ खोजे । तिनी आफ्नो कोठाभित्र पसी रोए ।31 आफ्नो मुख धोई तिनी बाहिर आए । आफूलाई नियन्‍त्रण गर्दै तिनले भने, “खाना ल्याओ ।32 नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के । मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे । त्‍यसो गर्नु मिश्रीहरूका लागि अत्‍यन्‍तै घृणित कुरो थियो ।33 दाजुहरू योसेफका सामु बसे । तिनीहरू जेठादेखि कान्‍छासम्म मिलेर बसेका थिए । तिनीहरू सबै सँगसँगै छक्‍क परेका थिए ।34 आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए । तर बेन्‍यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्‍दा पाँच गुणा बेसी थियो । तिनीहरूले पिए र तिनीहरू तिनीसँगै खुसी भए ।