42
अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो । तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ ?2 तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।3 योसेफका दश जना दाजुहरू मिश्रमा अनाज किन्‍नका लागि गए ।4 तर याकूबले योसेफका भाइ बेन्‍यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए ।5 किन्‍न आउनेहरूमध्‍ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो ।6 योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।7 योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्‍तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ ।8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन् ।9 त्‍यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासूस हौ । तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।10 तिनीहरूले तिनलाई भने, “त्‍यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्‍न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ ।11 हामी इमानदार मानिसहरू हौँ । हामी तपाईंका दासहरू जासूस होइनौँ ।12 तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।13 तिनीहरूले भने, “हामी तपाईंका दासहरू बाह्र जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्‍छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैन ।14 योसेफले तिनीहरूलाई भने, “त्‍यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासूस हौ ।15 यसैद्वारा तिमीहरूको जाँच हुनेछ । फारोको शपथ खाएर म भन्‍दछु कि तिमीहरूका कान्‍छा भाइ यहाँ नआउञ्‍जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ ।16 तिमीहरूमध्‍ये कोही एक जना गएर तिनलाई लिएर आऊ । तिमीहरूको वचन सत्‍य छ कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्‍छौ ।17 तिनले तिनीहरू सबैलाई तीन दिनसम्म कैदखानामा राखे ।18 तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्‍नेछौ किनकि म परमेश्‍वरदेखि डराउँछु ।19 तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड, र तिमीहरूचाहिँ जाओ । तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ ।20 तिमीहरूका कान्‍छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्‍यसैले तिनीहरूले त्‍यसै गरे ।21 तिनीहरूले एक-अर्कालाई भने, “हाम्रा भाइको सम्बन्धमा हामी साँच्‍चै दोषी छौँ किनकि तिनले हामीसित बिन्‍ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ । त्‍यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो ।22 रूबेनले तिनीहरूलाई जवाफ दिए, “ ‘त्‍यस केटोको विरुद्धमा पाप नगर’ भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र ? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्‍यसको रगतको बदला भोग्‍नुपर्छ ।23 योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बीचमा अर्थ खोल्ने व्यक्ति थियो ।24 तिनी तिनीहरूबाट एकातिर गई रोए । तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे । तिनले तिनीहरूका बीचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे ।25 त्‍यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्‍दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे ।26 आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्‍यहाँबाट प्रस्थान गरे ।27 विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो ।28 तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्‌यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको ?29 तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,30 “त्‍यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्‍यहाँ जासूस भएर गएका थियौँ भनी ठाने ।31 हामीले तिनलाई भन्‍यौँ, ‘हामी इमानदार मानिसहरू हौँ । हामी जासूस होइनौँ ।32 हामी बाह्र जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्‍छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।’33 त्‍यस देशका मालिकले हामीलाई भने, ‘यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्‍ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।34 तिमीहरूका कान्‍छो भाइ मकहाँ लिएर आओ । तब तिमीहरू जासूस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु । त्‍यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस’ ।35 तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए ।36 तिनीहरूका पिता याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्‍तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्‍यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।37 रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्‍यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्‍छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।38 याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।”