41
दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए ।2 नील नदीबाट सात वटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।3 नील नदीबाट अरू सात वटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए ।4 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सात वटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे ।5 तिनी फेरि सुते र अर्को सपना देखे । सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे ।6 त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सात वटा अन्नका बाला तिनीहरू पछि पलाए ।7 सेप्रा बालाहरूले ती सात वटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो ।8 बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादूगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्ने त्यहाँ कोही भएन ।9 त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, “आज म मेरो दोषको बारेमा सोच्दै छु ।10 फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुभयो ।11 तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ ।12 त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्तानको नोकर थियो । हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो । त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो ।13 त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो । फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो ।14 त्यसपछि फारोले योसेफलाई डाक्न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए ।15 फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन । तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु ।16 योसेफले फारोलाई जवाफ दिए, “ममा यस्तो खुबी त छैन, तर परमेश्वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ ।17 फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ ।18 नील नदीबाट सात वटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।19 नील नदीबाट अरू सात वटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पूरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ ।20 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सात वटा मोटा-मोटा गाईलाई खाइदिए ।21 तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिले जस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो ।22 मेरो अर्को सपनामा मैले सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ ।23 त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सात वटा अन्नका बाला तिनीहरू पछि पलाउन थाले ।24 सेप्रा बालाहरूले ती सात वटा भरिला र असल बालालाई खाइदिए । मैले जादूगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन ।25 योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।26 सात वटा असल गाई र सात वटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।27 तीपछि आएका सात वटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सात वटा बाला अनिकालका सात वर्ष हुन् ।28 मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।29 हेर्नुहोस्, मिश्र देशभरि ठूलो सहकालको सात वर्ष हुनेछ ।30 त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकालले देशलाई सखाप पार्नेछ ।31 देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झिइनेछैन किनकि यो अति नै भयानक हुनेछ ।32 फारोलाई सपना दोहोर्याइनुको कारणचाहिँ यही हो, कि परमेश्वरले यो विषयलाई पक्का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।33 अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् ।34 फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् ।35 सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ ।36 मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।37 फारो र तिनका सबै कामदारको दृष्टिमा यो सल्लाह राम्रो थियो ।38 फारोले आफ्ना कामदारहरूलाई भने, “यिनी जस्तै परमेश्वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र ?39 त्यसैले फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमी जस्तै कुशल र बुद्धिमान् अरू कोही छैन ।40 तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् । सिंहासनमा मात्रै म तिमी भन्दा ठूलो हुनेछु ।41 फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।42 फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए । तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए ।43 फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए ।44 फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।45 फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए । तिनले योसेफलाई पूजाहारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए । योसेफ मिश्र देशभरि जान्थे ।46 मिश्रका राष्ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तीस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।47 सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्यो ।48 तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे ।49 योसेफले अन्नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्न यति धेरै थियो कि तिनले हिसाब राख्नै छाडिदिए ।50 अनिकालका वर्षहरू सुरु हुनु भन्दा अगि योसेफले ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए ।51 योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, “परमेश्वरले मेरा र मेरा पिताका घरानाका सबै कष्ट बिर्सन लगाउनुभएको छ ।52 तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्वरले मेरो कष्टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।53 मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो ।54 योसेफले भने जस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो ।55 सारा मिश्र अनिकालले तड्पिँदा मानिसहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।56 अनिकालले पूरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो ।57 सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्न मिश्रमा आउँदै थिए ।