40
मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।2 आफ्ना यी दुई अधिकार प्राप्त मुख्य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।3 उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।4 अङ्गरक्षकहरूका कप्तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।5 ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।6 योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे ।7 उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ ?8 तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्वरका नै होइनन् र ? कृपया, मलाई ती बताउनुहोस् ।9 मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।10 त्यस दाखको बोटमा तीन वटा हाँगा थिए । जब त्यसमा टुसा पलायो , त्यसमा फूलहरू निस्किए र दाखका झुप्पाहरू पाके ।11 फारोको कचौरा मेरो हातमा थियो । मैले ती दाख लिएँ र फारोको कचौरामा निचोरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ ।12 योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ । तीन वटा हाँगा भनेको तीन दिन हो ।13 तीन दिनभित्र फारोले तपाईंको शिर उच्च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ । तपाईं फारोका पियाउने हुनुहुँदा जस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ ।14 तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् ।15 किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।16 जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ । रोटीका तीन वटा टोकरी मेरो टाउकोमाथि थिए ।17 सबै भन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए ।18 योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ । तीन वटा टोकरी भनेको तीन दिन हो ।19 तीन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रूखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।20 त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए ।21 तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए ।22 तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए ।23 मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले ।