45
त्‍यसपछि आफूनेर उभिएका सबै दासहरूका सामुन्‍ने योसेफले आफूलाई नियन्‍त्रण गर्न सकेनन् । तिनले उच्‍च सोरमा भने, “हरेक व्यक्ति यहाँबाट जाऊ ।” त्‍यसैले योसेफले आफैलाई आफ्ना दाजुहरूकहाँ चिनाउँदा योसेफको नजिकै कोही उभिएको थिएन ।2 तिनी यति ठूलो सोर निकालेर रोए कि मिश्रीहरूले मात्र नभई फारोको परिवारले पनि सुने ।3 योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ । के मेरा पिता अझै जीवितै हुनुहुन्‍छ ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए ।4 त्‍यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्‍ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।5 तिमीहरूले मलाई बेचेकोमा अपसोस नमान वा आफैमाथि रीस नगर किनकि जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरू भन्‍दा पहिले यहाँ पठाउनुभयो ।6 यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको छ, र अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ ।7 पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठूलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरू भन्‍दा पहिले यहाँ पठाउनुभयो ।8 त्‍यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।9 हतार-हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन, “तपाईंका छोरा योसेफ यसो भन्‍छन्, ‘परमेश्‍वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको छ । मकहाँ आउन विलम्ब नगर्नुहोस् ।10 तपाईं गोशेन प्रदेशमा बस्‍नुहुनेछ, र तपाईं, तपाईंका छोराछोरीहरू, तपाईंका नातिनातिनाहरू, तपाईंका बगालहरू, तपाईंका बथानहरू र तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ ।11 म त्‍यहाँ तपाईंको बन्‍दोवस्त गर्नेछु किनकि अनिकालका पाँच वर्ष अझै बाँकी छन्, नत्रता तपाईं, तपाईंको घराना र तपाईंसित भएका सबै दरिद्रतामा जानेछन्’ ।12 तिमीहरूसित बोल्ने म योसेफ नै हुँ भनी तिमीहरूका आँखाले देखेका छौ र मेरा भाइ बेन्‍यामीनले पनि देखेका छन् ।13 मैले मिश्रमा हासिल गरेको इज्‍जत र मैले प्राप्‍त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू । हतारसँग गएर मेरा पितालाई ल्याओ ।14 तिनी आफ्ना भाइ बेन्‍यामीनसित अँगालो हालेर रोए, अनि बेन्‍यामीन पनि अँगालो हालेर रोए ।15 तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे र तिनीहरूसँगै रोए । त्‍यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे ।16 “योसेफका दाजुहरू आएका छन्” भन्‍ने खबर फारोको घरमा पुग्यो । यसले फारो र तिनका कामदारहरूलाई निकै खुसी पार्‍यो ।17 फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, ‘आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।18 तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्‍वादिष्‍ठ मासु खानेछौ ।19 तिमीहरूलाई यसो भन्‍ने आज्ञा पनि दिइएको छ, ‘तिमीहरूका छोराछोरी र तिमीहरूका पत्‍नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ । तिमीहरूका पितालाई लिएर आओ ।20 तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्‍ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्’ ।21 इस्राएलका छोराहरूले त्‍यसै गरे । फारोको आज्ञामुताबिक योसेफले तिनीहरूलाई गाडाहरूसाथै यात्राका लागि मालसामानहरू दिए ।22 तिनले तिनीहरू सबैलाई नयाँ लुगाहरू पनि दिए, तर बेन्‍यामीनलाई भने तिनले तीन सय चाँदीका टुक्रा र पाँच जोर लुगा दिए ।23 आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल-अलस थोकहरू लादिएका दश वटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्य पदार्थहरूले लादिएका दश वटा गधैनी ।24 तिनले आफ्ना दाजुहरूलाई पठाए र तिनीहरू त्‍यहाँबाट प्रस्थान गरे । तिनले तिनीहरूलाई भने, “तिमीहरू बाटोमा झगडा नगर ।25 तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।26 तिनीहरूले तिनलाई भने, “योसेफ अझै जीवितै छन्, र तिनी सारा मिश्र देशभरिको शासक भएका छन् ।” योसेफको बारेमा तिनीहरूले भनेका कुरा विश्‍वास गर्न नसकेर तिनी बेहोस भए ।27 योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले याकूबलाई बताइदिए । याकूबले आफूलाई लैजान योसेफले पठाएका गाडाहरू देखेपछि तिनीहरूका पिता याकूबको होस फर्क्यो ।28 इस्राएलले भने, “अब पुग्यो । मेरो छोरो योसेफ अझै जीवित छ । म मर्नुअघि गएर त्‍यसलाई हेर्नेछु ।”