35
परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्‍यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्‍वरको निम्ति एउटा वेदी बना ।2 त्‍यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बीचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।3 अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्‍यहाँ म परमेश्‍वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।4 त्‍यसैले तिनीहरूले आ-आफ्ना हातमा भएका सबै विदेशी देवता र तिनीहरूका कानमा लगाएका कुण्डलहरू याकूबलाई दिए । याकूबले तिनलाई शकेमको नजिकै रहेको फलाँटको रूखमुनि गाडे ।5 तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्‍वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो । त्‍यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन् ।6 याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।7 त्‍यहाँ तिनले एउटा वेदी बनाए, र त्‍यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्‍यहाँ परमेश्‍वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।8 त्‍यहाँ रिबेकाकी धाई दबोरा मरी । त्‍यसलाई बेथेलनेरको फलाँटको रूखमुनि गाडियो । त्‍यसैले यसको नाउँ अल्लोन-बकुत राखियो ।9 याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।10 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन । तेरो नाउँ इस्राएल हुनेछ ।” त्‍यसैले परमेश्‍वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो ।11 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्‍तानहरूका बीचमा राजाहरू हुनेछन् ।12 मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु । तँपछि उदय हुने तेरा सन्‍तानहरूलाई पनि म यो देश दिनेछु ।13 तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्‍वर जानुभयो ।14 परमेश्‍वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्‌गाको एउटा वेदी खडा गरे । तिनले त्‍यसमाथि अर्घ-बलि चढाएर तेल खन्‍याए ।15 परमेश्‍वर तिनीसित बोल्नुभएको त्‍यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए ।16 तिनीहरू बेथेलबाट प्रस्थान गरे । तिनीहरू एप्रात आइपुग्‍न अलिकति दूरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो । उनलाई ज्‍यादै पीडा भएको थियो ।17 उनी अत्‍यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्‍माउनुहुनेछ ।18 उनको प्राण जाने बेलामा उनी चिच्‍च्‍याउँदै गर्दा उनले त्‍यसको नाउँ बेन-ओनी राखिन्, तर त्‍यसका पिताले त्‍यसलाई बेन्‍यामीन नाउँ दिए ।19 राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो ।20 याकूबले उनको चिहानमा एउटा खामो खडा गरे । आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ ।21 इस्राएल अगि बढे र तिनले बगालको धरहरा भन्‍दा पर आफ्नो पाल टाँगे ।22 इस्राएल त्‍यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बाह्र जना छोरा थिए ।23 याकूबले लेआबाट जन्‍माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्‍यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।24 राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्‍यामीन ।25 राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली ।26 लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्‍माएका छोराहरू थिए ।27 याकूब किर्यत-अर्बामा (जुन हेब्रोन हो) आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए ।28 इसहाक एक सय असी वर्षसम्म बाँचे ।29 इसहाकले आफ्नो अन्‍तिम सास फेरे र तिनको मृत्‍यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पूरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।