34
अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन् ।2 त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई पक्रेर लगे र उनीसित सहवास गरे ।3 तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्नेहपूर्वक बोले ।4 शकेमले आफ्ना पिता हमोरलाई यसो भने, “मेरी पत्नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् ।5 अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने । तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए । त्यसैले तिनीहरू नफर्कुञ्जेल याकूब चुप लागेर बसे ।6 शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए ।7 याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो ।8 हमोरले तिनीहरूलाई भने, “मेरो छोरो शकेमले तपाईंकी छोरी दीनालाई माया गर्छन् । कृपया, उनलाई तिनकी पत्नी हुन दिनुहोस् ।9 हामीसित अन्तरजातीय विवाह गर्नुहोस् । तपाईंका छोरीहरू हामीलाई दिनुहोस् र हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस् ।10 तपाईंहरू हामीसितै बस्नुहोस् । तपाईंहरूलाई बसोबास गरी व्यापार गर्न र सम्पत्ति आर्जन गर्न यो देश खुला हुनेछ ।11 शकेमले उनका पिता र उनका दाजुहरूलाई भने, “मलाई तपाईंहरूले निगाह गर्नुहोस्, र तपाईंहरूले मलाई जे भन्नुहुन्छ, म त्यही दिनेछु ।12 तपाईंहरूलाई इच्छा लागेमुताबिक जतिसुकै दाइजो र उपहार माग्नुहोस् म ती दिनेछु, तर मलाई यी युवती पत्नी तुल्याउनलाई दिनुहोस् ।13 शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम र तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए ।14 तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो कुरा गर्न सक्दैनौँ । खतना नगरेको कुनै पनि व्यक्तिलाई हामी हाम्री बहिनी दिन सक्दैनौँ । किनकि त्यसो गर्दा हाम्रो बेइज्जत हुन्छ ।15 यो शर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामी जस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।16 तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ र तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ ।17 तर तपाईंहरूले हाम्रो कुरा सुनेर खतना गर्नुभएन भने हामी हाम्री बहिनी लिएर जानेछौँ ।18 तिनीहरूको कुराले हमोर र तिनका छोरा शकेमलाई खुसी तुल्यायो ।19 यिनीहरूले भनेका कुरा गर्न ती युवकले ढिला गरेनन् किनकि तिनी याकूबकी छोरीसित मोहित भएका थिए, र तिनी आफ्ना पिताको घरानामा सबै भन्दा इज्जतदार व्यक्ति थिए ।20 हमोर र तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने,21 “यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठूलो छ । तिनीहरूका छोरीहरूलाई पत्नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।22 यो शर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्ः तिनीहरू जस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ ।23 के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र ? त्यसैले तिनीहरूसित सहमत होऔँ र तिनीहरू हामीसित बसून् ।24 सहरका सबै मानिसले हमोर र तिनका छोरा शकेमको कुरा माने, अनि हरेक पुरुषको खतना गरियो ।25 तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे ।26 तिनीहरूले तरवारले हमोर र तिनका छोरा शकेमलाई मारे । तिनीहरूले दीनालाई शकेमको घरबाट लिएर गए ।27 याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए ।28 तिनीहरूले उनीहरूका बगालहरू, बथानहरू, गधाहरू, सबै सम्पत्ति र सहरमा भएको हरेक थोक लिएर गए ।29 तिनीहरूका सबै केटाकेटी र पत्नीहरूलाई तिनीहरूले कैद गरे । घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे ।30 याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्ट हुनेछौँ ।31 तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ ?”