33
याकूबले माथि हेर्दा एसाव आउँदै थिए, र तिनीसित चार सय मानिस थिए । तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई जना कमारीको बीचमा विभाजन गरे ।2 तब तिनले कमारीहरू र तिनीहरूका छोराछोरीहरूलाई अग्रपङ्‌क्तिमा राखे; त्‍यसपछि लेआ र उनका छोराछोरीहरू अनि अन्‍त्‍यमा राहेल र योसेफलाई राखे ।3 तिनी आफैचाहिँ तिनीहरू भन्‍दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्‍जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्‍याउँदै गए ।4 एसाव याकूबलाई भेट्न दौडिए; अङ्‌गालो हाले; अङ्‌कमाल गरे र चुम्बन गरे । त्‍यसपछि तिनीहरू रोए ।5 एसावले हेर्दा तिनले स्‍त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन् ?” याकूबले भने, “तपाईंका दासलाई परमेश्‍वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।6 त्‍यसपछि आ-आफ्ना छोराछोरीहरू लिएर कमारीहरू आएर एसावलाई ढोग गरे ।7 अनि लेआ र उनका छोराछोरीहरू आएर ढोग गरे । अन्‍त्‍यमा योसेफ र राहेल आएर ढोग गरे ।8 एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो ?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्‍टिमा निगाह प्राप्‍त गर्नलाई हो ।9 एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।10 याकूबले भने, “त्‍यसो होइन । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो हातबाट उपहार ग्रहण गर्नुहोस् । किनभने मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्‍वरको मुहार देखे जस्‍तै भएको छ र तपाईंले मलाई ग्रहण गर्नुभएको छ ।11 कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्‍ती गरेपछि एसावले त्‍यसलाई स्वीकार गरे ।12 तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।13 याकूबले तिनलाई भने, “मेरा मालिकलाई थाहै छ, कि यीकेटाकेटीहरू सानै छन् र यी गाईबस्तुहरूले दूध चुसाउँदै छन् । तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने ती सबै मर्नेछन् ।14 यसैले मेरा मालिक आफ्ना दास भन्‍दा अगिअगि जानुहोस् भनी म बिन्‍ती गर्दछु । सेइरमा मेरा मालिककहाँ नआइपुगुञ्‍जेलसम्म म गाईबस्तुको चाल र केटाकेटीहरूको चालमा निकै बिस्तारै हिँड्नेछु ।15 एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्‍छु ।” तर याकूबले भने, “किन त्‍यसो गर्ने ? मेरा मालिकको दृष्‍टिमा मैले निगाह पाए त भइहाल्यो नि ।16 त्‍यसैले त्‍यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।17 याकूब सुक्‍कोततर्फ लागे । त्‍यहाँ तिनले डेरा हाले र आफ्ना गाईबस्तुहरूका निम्ति छाप्रा हाले । त्‍यसकारण त्‍यस ठाउँको नाउँ सुक्‍कोत राखियो ।18 याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे ।19 त्‍यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्‍यहीँ नै आफ्नो पाल टाँगे ।20 त्‍यहाँ तिनले एउटा वेदी बनाए र त्‍यसको नाउँ एल-एलोह-इस्राएल राखे ।