24
अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए र परमप्रभुले तिनलाई सबै कुरामा आशिष्‌ दिनुभएको थियो ।2 अब्राहामले आफ्‍नो घरको सबै भन्‍दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌3 अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।4 तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।5 त्‍यस नोकरले तिनलाई भन्‍यो, “यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने ? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने ?6 अब्राहामले त्‍यसलाई भने, “तैँले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू !7 मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्‍तानलाई म यो देश दिनेछु’, उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउनेछस् ।8 त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू ।9 त्‍यसैले त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।10 आफ्‍ना मालिकका दश वटा ऊँट लिएर त्‍यो नोकर बिदा भयो । त्‍यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।11 त्‍यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्‍न लगायो । त्‍यो साँझपख स्‍त्रीहरू पानी भर्न आउने बेला थियो ।12 अनि त्‍यसले प्रार्थना गर्‍यो, “हे परमप्रभु मेरा मालिकका परमेश्‍वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌ ।13 हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन्‌ ।14 यसैले यसो होस्‌ः जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।15 त्‍यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन्‌ । तिनी अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी थिइन् ।16 ती जवान स्‍त्री अत्‍यन्‍त सुन्‍दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌ ।17 तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।18 तिनले “हजूर, पिउनुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी पियाइन् ।19 त्‍यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु ।20 तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डुँडमा खन्‍याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌ ।21 त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागेर तिनलाई हेरिरह्यो ।22 ऊँटहरूले पानी खाइसकेपछि त्‍यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्‍थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्‍यो,23 “तिमी कसकी छोरी हौ ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ ?24 तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ ।25 तिनले त्‍यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्‍त छन्,र रात गुजार्नलाई कोठा पनि छन्‌ ।26 तब त्‍यस मानिसले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गर्‍यो ।27 त्‍यसले भन्‍यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर धन्‍यका हुनुहुन्‍छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन । परमप्रभुले नै मलाई डोर्‍याएर मेरा मालिकका कुटुम्‍बको घरमा ल्‍याइदिनुभएको छ ।28 तब ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌ ।29 रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए ।30 जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए, त्‍यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।31 त्‍यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।32 तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्‍यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो ।33 तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए, तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ ।” तब लाबानले भने, “ल, भन्‍नुहोस्‌ ।34 त्‍यसले भन्‍यो, “म अब्राहामको एक नोकर हुँ ।35 परमप्रभुले मेरा मालिकलाई धेरै आशिष्‌ दिनुभएको छ र तिनी एक ठूला मानिस भएका छन्‌ । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।36 मेरा मालिककी पत्‍नी साराले बुढेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्‍माइन्, र उनैलाई तिनले आफ्‍ना सबै कुरा दिएका छन्‌ ।37 मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।38 बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्‍नी ल्याउनू ।’39 मैले मेरो मालिकलाई भनेँ, ‘शायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्‍दिन होला ?’40 तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌छु, उहाँले नै आफ्‍ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैँले मेरो कुटुम्‍ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्‍नी ल्‍याउनेछस्‌ ।41 तर तँ मेरो कुटुम्‍बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌ ।’42 यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, ‘हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्‍छा भए,43 म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्‍त्रीलाई मैले ‘तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ’, भन्‍दा44 तिनले मलाई ‘खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु’, भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्‍त्री त्‍यही होस् ।45 मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌ । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’46 तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌ ।47 मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ ।48 अनि मैले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति पत्ता लगाउन मलाई ठीक बाटोमा डोर्‍याउनुभएको थियो ।49 अब तपाईंहरू मेरा मालिकसँग करारको विश्‍वासयोग्‍यता र भरोसायोग्य व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌ । होइन भने पनि मलाई भन्‍नुहोस्, र म दाहिने-देब्रे जता हुन्‍छ लागुँला ।50 तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौँ ।51 हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे । त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभए जस्‍तै गरी त्‍यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌ ।52 तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भुइँमा निहुरेर परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो ।53 तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो । त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ उपहारहरू दियो ।54 तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए अनि बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌ ।55 रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम्तीमा पनि दश दिन यहीँ हामीसँग रहन दिनुहोस्‌ । त्‍यसपछि तिनी गए हुन्‍छ ।56 तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्‍याउनुहोस्‌ । मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु ।57 तिनीहरूले भने, “हामी कन्‍यालाई बोलाउँछौँ र तिनलाई सोध्छौँ ।58 अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ ?” तिनले भनिन्, “म जान्‍छु ।59 यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए ।60 तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्‍जा गरून्‌ ।61 तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्‍यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो ।62 अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।63 इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए । उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे ।64 रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् ।65 तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दै आउने मानिस को हुन्‌ ?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌ ।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌ ।66 त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो ।67 इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए ।