23
सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌ । साराका जीवनमा वर्षहरू यी नै थिए ।2 सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌ । अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे ।3 त्‍यसपछि अब्राहाम आफ्नी पत्‍नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने,4 “म तपाईंहरूका बीचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्‌न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।5 हेतका छोराहरूले अब्राहामलाई भने,6 “मालिक, हाम्रा कुरा सुन्‍नुहोस् । तपाईं हाम्रो बीचमा परमेश्‍वरका राजकुमार हुनुहुन्‍छ । हाम्रा चिहानमध्‍ये सबै भन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌ । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान तपाईंलाई दिन इन्‍कार गर्नेछैन ।7 तब अब्राहामले उठेर त्‍यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्‍डवत्‌ गरे ।8 तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्‍जुर छ भने मेरो कुरो सुन्‍नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्‍ति बिन्‍ती गरिदिनुहोस् ।9 उनका खेतको छेउमा भएको आफ्‍नो मक्‍पेलाको ओडार मलाई बेच्‍न भनिदिनुहोस् । उनले त्‍यो जमिन पूरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।10 त्‍यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्‍ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,11 “होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । म तपाईंलाई त्‍यो खेत र त्‍यसमा भएको ओडार पनि दिन्‍छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्‍ने म त्‍यो तपाईंलाई दिन्‍छु । म तपाईंलाई लाश गाड्नको निम्ति त्‍यो दिन्‍छु ।12 अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे ।13 अनि तिनले त्‍यस ठाउँका मानिसहरूले सुन्‍ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्‍जुरी भए मेरो कुरा सुन्‍नुहोस् । म त्‍यस जग्‍गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्‍यहाँ लाश गाड्नेछु ।14 एप्रोनले अब्राहामलाई भने,15 “हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । जग्‍गाको मोल चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र ? लाशलाई गाड्‌नुहोस्‌ ।16 अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्‍ने उनले भने जस्‍तै व्‍यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्‍का जोखेर उनलाई दिए ।17 यसरी मक्‍पेलामा मम्रेनेरको एप्रोनको खेत र त्‍यसभित्र भएका ओडार र रूखहरूसमेत18 एप्रोनले त्‍यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए ।19 त्‍यसपछि अब्राहामले आफ्‍नी पत्‍नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाक खेतको ओडारमा गाडे ।20 यसरी त्‍यो खेत र त्‍यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।