25
अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे ।2 तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌ ।3 योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी,लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए ।4 मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।5 अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए ।6 तर आफू जीवित छँदै तिनका उपपत्‍नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्‍याएर तिनीहरूलाई पूर्व देशतिर पठाए ।7 अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।8 अब्राहाम पूरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।9 तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे ।10 त्‍यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्‍नी पत्‍नी सारासित त्‍यहीँ नै गाडिए ।11 अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो,र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।12 साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्‍तान यिनै थिए ।13 जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिएः इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल, मिब्‍साम,14 मिश्‍मा, दुमा, मस्‍सा,15 हदद, तेमा, यतूर, नापीश र केदमा ।16 इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।17 इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतीस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।18 तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।19 अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।20 पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालीस वर्षका थिए ।21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌ ।22 तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्‍तो भयो ?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्को भन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।24 तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।25 जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाए जस्‍तै रातो वर्णको जन्‍म्‍यो । तिनीहरूले त्‍यसको नाउँ एसाव राखे ।26 त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्‍यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।27 बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए ।28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌ ।29 याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।30 एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।31 याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस् ।32 एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम ?33 याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।34 याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्‍याए ।