21
अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्‍वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्‍वी बितिगए, र समुद्र त छँदै थिएन ।
2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।
4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्‍यहाँ कुनै मृत्‍यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
5 सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्‍नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्‍य छन् ।”
6 उहाँले मलाई भन्‍नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्‍त्‍य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु ।
7 जसले विजय प्राप्‍त गर्छ, त्‍यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्‍यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
8 तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्‍याराहरू, यौन-अनैतिकहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्‍यो दोस्रो मृत्‍यु हो ।”
9 अन्‍तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्‍ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।”
10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्य रत्‍नहरू जस्‍तो, मणिक स्फटिक पत्थरको जस्‍तो थियो ।
12 त्‍यसका बाह्र वटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्‍तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए ।
13 पूर्वमा तिन वटा ढोका, उत्तरमा तिन वटा ढोका, दक्षिणमा तिन वटा ढोका र पश्‍चिममा तिन वटा ढोका थिए ।
14 सहरका पर्खालका बाह्र वटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्र वटा नाउँ थिए ।
15 मसँग बोल्नुहुनेसँग सहर र त्‍यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो ।
16 त्‍यो सहर वर्गाकार थियो; त्‍यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्‍यस लौरोले सहर नाप्दा त्‍यो लगभग बाह्र हजार लम्बाइको थियो (त्‍यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) ।
17 तिनले त्‍यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्‍यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) ।
18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँच जस्‍तै बनाइएको थियो ।
19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो ।
20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो ।
21 बाह्र वटा ढोका बाह्र मोतीका थिए । प्रत्‍येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँच जस्‍तै छर्लङ्‌ग देखिन्‍थे ।
22 मैले सहरमा कुनै मन्‍दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्‍दिर हुनुहुन्‍छ ।
23 सहरलाई उज्‍यालो पार्न सूर्य वा चन्‍द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्‍वरको महिमा नै त्‍यसमाथि चमक थियो, र त्‍यसको बत्ती थुमा हुनुहुन्‍छ ।
24 त्‍यस सहरमा जाति-जातिहरू ज्‍योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्‍यसमा ल्याउनेछन् ।
25 यसका ढोकाहरू दिनको समयमा बन्‍द गरिनेछैनन्, र त्‍यहाँ रात हुनेछैन ।
26 जाति-जातिहरूले आफ्ना गौरव र आदर त्‍यसभित्र ल्याउनेछन् ।
27 र कुनै अशुद्ध थोक कहिल्यै त्‍यसभित्र पस्‍न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्‍यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्‍यहाँ पस्‍न पाउनेछन् ।