22
त्‍यसपछि स्वर्गदूतले मलाई स्फटिक जस्‍तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
2 यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्‍येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
3 त्‍यहाँ कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
5 त्‍यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्‍योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्‍योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्‍य गर्नेछन् ।
6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्‍य छन् । अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्‍यो धन्‍यको हो ।”
8 म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्‍टो परेँ ।
9 तिनले मलाई भने, “त्‍यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्‌गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”
10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
11 जो अधर्मी छ, त्‍यसले निरन्‍तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्‍यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्‍यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्‍यो निरन्‍तर पवित्र रहिरहोस् ।”
12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
13 अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, सुरु र अन्‍त म नै हुँ ।
14 आफ्ना वस्‍त्र धुनेहरू धन्‍यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउन सकून् ।
15 कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, अश्‍लील काम गर्नेहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्‍छन् ।
16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”
17 पवित्र आत्मा र दुलही भन्‍नुहुन्‍छ, “आओ ।” जसले सुन्‍छ त्‍यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्‍यसलाई आउन देऊ, र जसले यसको इच्‍छा गर्छ, त्‍यसले जीवनको पानी सित्तैँमा पिओस् ।
18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म चेताउनी दिन्‍छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ ।
19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्‍यसलाई निकालिदिनुहुनेछ ।
20 यी कुराका गवाही दिने जसले भन्‍नुहुन्‍छ, “हो, म चाँडै आउँदै छु ।” आमेन ! आउनुहोस्, हे प्रभु येशू ।
21 प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।