20
तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो ।
2 उनले अजिङ्‌गर अर्थात् त्‍यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्‍यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
3 उनले त्‍यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्‍द गरे र त्‍यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्‍यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्‍यसपछि त्‍यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ ।
4 अनि मैले सिंहासनहरू देखेँ । त्‍यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्‍य गरे ।
5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्‍त्‍य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो ।
6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्‍यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्‍युको कुनै शक्‍ति हुँदैन । तिनीहरूले परमेश्‍वर र ख्रीष्‍टका पूजाहारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्‍य गर्नेछन् ।
7 जब एक हजार वर्षको अन्‍त्‍य हुन्‍छ, तब शैतानलाई त्‍यसको कैदबाट छोडिनेछ ।
8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्‍यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्‍ती हुनेछन् ।
9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
10 तिनीहरूलाई छल गर्ने त्‍यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।
11 त्‍यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्‍यहाँ कुनै ठाउँ थिएन ।
12 मैले शक्‍तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्‍याय भयो ।
13 समुद्रमा भएका मृतकहरूलाई त्‍यसले फिर्ता गरिदियो । मृत्‍यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्‍याय भयो ।
14 मृत्‍यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्‍यु हो ।
15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्‍यसलाई अग्‍नि-कुण्डमा फालियो ।