19
यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्‍तो सुनेँ, “हल्लेलूयाह ! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् ।
2 उहाँको इन्साफ सत्‍य र न्‍यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्‍यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्‍यो आफैँले बगाएकी थिई ।”
3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह ! त्‍यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्‍छ ।”
4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्‍टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह !” भनिरहेका थिए ।
5 त्‍यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्‍दछन्, हाम्रा परमेश्‍वरको प्रशंसा गर ।”
6 अनि एउटा ठुलो भिडको आवाज जस्‍तो सोर, धेरै पानीको आवाज र गर्जन जस्‍तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ ।
7 हामी आनन्‍दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”
8 तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
9 स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्‍त्रणा गरिएकाहरू धन्‍यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्‍वरका सत्‍य वचन हुन् ।’
10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्‍टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्‌गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्‍छ ।”
11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्‍यहाँ एउटा सेतो घोडा थियो । त्‍यसमाथि सवार हुनुहुनेलाई सत्‍य र विश्‍वासयोग्य भनिन्‍थ्यो । उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्‍छ ।
12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
13 उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्‍थ्यो ।”
14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्‍छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्‍छ ।
16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ ।
18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्‍यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्‍त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।”
19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्‍यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्‍यो झुटा अगमवक्‍ताले त्‍यस पशुको छाप लगाउने र त्‍यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्‍ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।
21 तिनीहरूमध्‍ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।