4
तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ ? के त्‍यो तिमीहरूका सदस्यहरूका बीचमा सङ्‌घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र ?
2 तिमीहरू इच्‍छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्‍या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
3 तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।
4 तिमी व्‍यभिचारीहरू हो ! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन ? त्‍यसकारण, जसले संसारको मित्र हुने इच्‍छा गर्दछ, उसले आफैँलाई परमेश्‍वरको शत्रु बनाउँछ ।
5 वा धर्मशास्‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्‍यन्‍तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्‍दछ भनी के तिमीहरू ठान्‍दछौ ?
6 तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्‍छ, यसैकारण धर्मशास्‍त्रले भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ ।”
7 त्‍यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ ।
8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
9 दुःखी होओ; विलाप गर; र रोओ ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्‍द निराशामा परिणत होस् ।
10 प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्‍याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्‍याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्‍याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्‍यायकर्ता पो हुन्‍छौ ।
12 व्यवस्था दिने र न्‍यायकर्ता एक जना मात्र हुनुहुन्‍छ । बचाउन र नाश गर्न सक्‍नुहुने उहाँ मात्र एक हुनुहुन्‍छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ ?
13 अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्‍यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्‍छौ ।
14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्‍यसपछि हराइहाल्छ ।
15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो, “यदि परमेश्‍वरले इच्‍छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्‍यो गर्नेछौँ ।”
16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
17 त्‍यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्‍यो त्‍यसको निम्ति पाप हुन्‍छ ।