3
मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामीले यो जान्‍नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
2 किनकि हामी धेरै किसिमले ठेस खान्‍छौँ । यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।
3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्‍यसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छौँ ।
4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्‍छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्‍छ त्‍यो त्‍यहीँ लगिन्‍छ ।
5 त्‍यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्‌ग हो, तरै पनि त्‍यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्‌गलमा डढेलो लगाउँछ ।
6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्‌गहरूमध्‍ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ ।
7 किनकि सबै किसिमका जङ्‍गली जनावरहरू, चराचुरुङ्‌गीहरू, घस्रने जन्‍तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।
8 तर मानिसमध्‍ये कसैले पनि जिब्रोलाई वशमा राख्‍न सकेको छैन । यो घातक विषले भरिएको र नियन्‍त्रण गर्न नसकिने दुष्‍ट हो ।
9 यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्‍वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ ।
10 एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्‍छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
11 के एउटा छहराको मुखबाट त्‍यसले मिठो र तितो पानी दुवै निकाल्दछ र ?
12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र ? वा दाखको बोटले अन्जीर फलाउँदछ ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ ? त्‍यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्‍यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्‍छ, त्‍यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्‍छ ।
17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्‍छ, त्‍यसपछि शान्‍तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्‍छ ।
18 अनि धार्मिकताको फलचाहिँ शान्‍ति कायम गर्नेहरूका माझमा शान्‍तिमा छरिएको छ ।